लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसंख्या करीब छसय
भारत अतिक्रमति नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसंख्या करीब ६ सय रहेको आज सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा जनाइएको छ ।
बुधबार प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले तत्काल पालिकागत जनसंख्या मात्र सार्वजनिक गरिएको र वडा तहको पछिमात्र प्रकाशन गरिने बताउनुभयो ।
त्यस्तै विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार कालापानी क्षेत्रको जनसंख्या करिब ६ सय रहेको छ । त्यस क्षेत्रको जनसंख्या पाँच सयदेखि ६ सयको बीचमा रहेको र वडा तहसम्मको जनसंख्या यकिन गर्न बाँकी रहेकाले अहिले नै किटेर भन्न सक्ने अवस्था नभएको बताउनुभयो ।
महानिर्देशक श्रेष्ठले भन्नुभयो ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भौतिक उपस्थितिमा जनगणना हुन सकेन । तर इन्डाइरेक्ट टेक्निक्सहरू युज गरेर (प्रविधिको प्रयोग गरी) त्यहाँको प्रारम्भिक जनसंख्या पनि निकाल्न सकेका छौं । तथ्यांकमा समावेश भएको छ ।’
२०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभाग जनगणना हुन सकेको छैन । अहिले लिम्पियाधुरा क्षेत्र भारतीय सेनाको कब्जामा छ । उतिखेरको जनगणनामा डोटी, बैतडी र डडेलधुरा जिल्लाको जोनल अफिसरका रूपमा खटिएका वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार लिम्पियाधुरा क्षेत्रका मानिसको संख्या १ हजार ५ सयजनाको हाराहारीमा थियो ।
त्यो जनगणनाले नेपालको कुल जनसंख्या ९४ लाख १२ हजार ९ सय ९६ जना देखाएको थियो । तर, केन्द्रीय तथ्यांक विभागमा उतिखेर लिइएको जनगणनाको खण्डिकृत तथ्यांकको रेकर्ड भेटिएको छैन ।
प्रतिक्रिया राख्नुहोस्