राजनीति

गण्डकीमा सुरेशकुमार आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका तीन सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराको परिसरमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको मतदानपछि साँझ सम्पन्न मतगणनामा गठबन्धनका उम्मेदवार तीनै पदमा विजयी भएका हुन् ।

सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेशकुमार आलेमगर तीन हजार ९६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का पुण्यप्रसाद पौडेलले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

महिलातर्फ नेपाली कांग्रेसका कमला पन्तले तीन हजार ८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लीला पोखरेल(थनेत)ले दुई हजार ७२४ मत प्राप्त गर्नुभयो ।

यसैगरी दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनारले तीन हजार ४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार सुनामले दुई हजार ७२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको निर्वाचनमा गण्डकीमा प्रदेशसभाका ५९ सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० गरी २२९ मतदाता रहेका थिए । प्रदेशसभाका ५९ र स्थानीय तहका १६८ जनाले मतदान गर्नुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ मतभार रहेको थियो ।

प्रदेशभाको तीनै समूहमा एक मत र स्थानीय तहतर्फ दलितमा दुई र अन्य अन्यतर्फ एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि प्रदेशसभा र स्थानीय तहको गरी दुई मतदान केन्द्र रहेको थियो । विजयी उम्मेदवारलाई बिहीबार निर्वाचित प्रमाणपत्र प्रदान गरिने निर्वाचिन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.