रवि लामिछाने बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर रिहा
पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बैंक ग्यारेन्टीमार्फत एक करोड धरौटी बुझाएर रिहा हुनुभएको छ ।
आइतबार सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले आइतबार लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर बाहिरिँदै लामिछानेले अदालतप्रति आभार व्यक्त गर्नुभएको छ ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले आइतबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतमा एकसाता चलेको बहसपछि लामिछाने धरौटीमा रिहा हुनुभएको हो ।
दुई पक्षका वकिलको बहसपछि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताउनुभयो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्