गोकर्णेश्वरका जागरुक युवा जुटे वैदिककालीन योग–ध्यान आश्रम बनाउन
काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको धार्मिक, सांस्कृतिक तथा जैविक विविधताको धनी गोकर्णेश्वर नगरपालिकाका जागरुक युवाहरु सोही नगरको वडा नंं ४ मा अवस्थित यज्ञडोल सामुदायिक वनमा वैदिककालीन योग–ध्यान आश्रम बनाउन जुटेका छन् ।
माघ १२ गते शनिबार विशिष्ठ व्यक्तित्वहरुको सहभागितामा यज्ञडोल सामुदायिक वनमा, ‘जागरुक महाअभियानको आवाज मण्डल’को आयोजना, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा प्रस्तावित आश्रमस्थलमा आयोजित वनभोज कार्यक्रममा सो योजना सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख रिसालले महाअभियानले प्रस्ताव गरेको योजनामा आफ्नो पूर्ण सात रहने प्रतिबद्धता जनाउँदै योजना निर्माणस्थलका लागि आवश्यक कानुनी समस्या समाधान गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
सोही समारोहमा यज्ञडोल सामुदायिक जन तथा राष्ट्रिय शहीद पार्कका अध्यक्ष सुदर्शन सिग्देलले सामुदायिक वन क्षेत्रमा निर्माण गर्न प्रस्ताव गरिएको परियोजनालाई आफ्नो तर्फबाट सक्दो साथ र सहयोग रहने बताउनुभयो ।
‘जागरुक महाअभियानको आवाज मण्डल’मा गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाका साथै कामपा, बुढानिलकण्ठ तथा कागेश्वरी मनोहरा नगरपालिकाका युवाहरुको सक्रिय सहभागिता रहेको छ ।
‘जागरुक महाअभियानको आवाज मण्डल’को विविध उद्देश्यमध्ये एक हो प्रस्तावित योग–ध्यान आश्रम । यो आश्रमको लक्ष्य पूर्वीय सभ्यता र संस्कृतिको रक्षा तथा प्रबद्र्धन गर्दै सकारात्मक ऊर्जाको प्रवाह गर्नु रहेको छ ।
मण्डलका अध्यक्ष सुरेश बस्न्यातको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य जञ्जीत केसीले योग–ध्यान आश्रमको प्रस्तावपत्र वाचन गर्नुभएको थियो भने कार्यक्रम संचालन ईश्वर चालिसेबाट भएको थियो ।
युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने, आफ्नो धर्म, संस्कृति, परपम्परामा गर्व गर्न प्रेरित गर्दै समाजमा स्थापित धार्मिक, सांस्कृतिक तथा अध्यात्मिक व्यक्तित्व तथा विज्ञहरुबाट योग–ध्यानको अभ्यास गराउने उद्देश्य लिइएको संस्थाका अध्यक्ष बस्न्यातले जानकारी दिनुभयो ।
अध्यक्ष बस्न्यातले उपरोक्त कार्यका अतिरिक्त विविध प्रकारका तालिम, गोष्ठी तथा अभ्यासहरु निरन्तर गराउँदै प्रस्तावित आश्रम विश्वव्यापी योग–ध्यान र आध्यात्मिक केन्द्रका रुपमा स्थापना गरिने दीर्घकालीन लक्ष्य लिएको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्