साधारण तारेखको माग गर्दै रवि लामिछाने उच्च अदालत कास्कीमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको धरौटीमा रिहा गर्ने आदेश बदर गरी साधारण तारेखमा पुर्पक्षको माग गर्दै उच्च अदालत पुग्नुभएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सात जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले रविसँग ६५ लाख धरौटी माग गरेको थियो ।
अदालतको सो आदेश बदर गरी साधारण तारेखमा पुर्पक्ष गर्न पाउँ भनी लामिछानेले दिनुभएको निवेदन सोमबार दर्ता भएको छ ।
उच्च अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी नीलप्रसाद पनेरुले लामिछानेको निवेदन सोमबार दिउँसो दर्ता भएको र मङ्गलबार एकल बेन्चबाट त्यसमा आदेश हुने उल्लेख गर्नुभयो ।
लामिछानेभन्दा अघि उच्च सरकारी वकिलको कार्यालयले धराटीमा छाड्ने आदेश बदर गरी थुनामै राख्नुपर्ने माग गर्दै निवेदन दिइसको छ भने लामिछानेले धरौटी नै बदर गर्न माग गर्दै निवेदन दर्ता गराउनभएको छ ।
यसअघि नै सूर्यदर्शनका प्रतिवादीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराइएको छ ।
उच्च सरकारी वकिल कार्यालयको निवदेनपछि माघ ८ गते उच्चले सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेस गर्न आदेश दिएको थियो ।
पुस २५ गते धरौटीमा छाड्न आदेश भएकोमा २९ गते जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निवदेन पठाएको थियो ।
उच्च सरकारी वकिलको निवेदनपछि भएको आदेश बमोजिम जिल्ला अदालतको कैफियत प्रतिवेदन प्राप्त भएपछि निवेदकको माग बमोजिम आदेश हुने वा नहुने उच्च अदालतले निर्णय गर्नेछ ।
यस निवेदनमा जिल्लाबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि उच्चको संयुक्त इजलासले निवेदन बमोजिम हुने वा नहुने निर्णय लिने सूचना अधिकारी पनेरुले जानकारी दिनुभयो ।
सूर्यदर्शन सहकारी प्रकरणमा एक अर्ब ५१ करोड रुपियाँ बिगो मागदाबीसहित ६३ जनाविरुद्ध दायर भएको मुद्दा विचाराधीन छ ।
प्रतिक्रिया राख्नुहोस्