कांग्रेस र एमालेले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै कांग्रेस र एमालेले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेको बताउनुभएको छ ।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको बताउनुभएको हो ।
राजतन्त्रको पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताउनुभयो ।
“अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभइकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ ।”
प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, “सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।”
प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गर्नुभयो ।
उहाँले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए चाँडै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गर्नुभयो ।
उहाँले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्