जन सरोकार

फिल्ममा जस्तै भयो मंगलबार राति मकवानपुरमा प्रहरी र तस्करबीच

कुनै कुनै बेला प्रहरी र तस्करबीच हिन्दी चलचित्रमा देखिएका देश्य जस्तै घटना हुने गरेको छ । माघ १४ गते राति साँढे ११ बजेतिर नेपालमा सबैभन्दभा बढी गाँजा तस्करी हुने मकवानपुरमा त्यस्तै भयो ।

भारतीय कारमा गाँजा बोकेर आएकाहरुले प्रहरी जाँचको बेवास्ता गरी गाडीको गति बलाउँदा इन्काउन्टर नै गर्नु परेको थियो । घटना विवरण अनुसार राति साढे ११ बजेतिर मनहरीमा बीआर ०६ जे ४४५८ नम्बरको भारतीय कार देखा पर्‍यो ।

नियमित जाँचमा बसेका प्रहरी टोली कार देखेर सडक किनारबाट बीचतिर आए । तर, कार रोकिएन । मनहरीबाट भाग्नेबित्तिकै प्रहरीले नगरपालिकामा एम्बुस थाप्यो । कार झन् हुइकिँदै अगाडि बढ्यो । भारतीय नम्बर प्लेटको कार दुई ठाउँबाट भागेपछि प्रहरीले यो सूचना सबै युनिटमा फैलायो ।

लेबर्टमा प्रहरी अधिकृत तैनाथ थिए । तर, त्यहाँ पनि सावधानी अपनाउँदा अपनाउँदै कार फुत्कियो । त्यसपछि कारमा लागूऔषध वा हतियार वा विष्फोटक पदार्थ छ भन्ने कन्फर्म गरेपछि मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौरले मकवानपुरको जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिक चेकपोइन्ट राख्न लगाउनुभयो । वडा प्रहरी कार्यालयका हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा ट्राफिक प्रहरीसहित सडकमा टोली निस्कियो । यद्यपि, कारको गति घटेन ।

प्रहरीले हवाइ फायर गर्‍यो । कार अझै तीब्र गतिमा भैरबडाँडातर्फ अघि बढ्यो । त्यसपछि प्रहरी गाडीमा चढेर कारलाई पछ्याउन थाल्यो । अलि अघि पुगेपछि कारको टायरमा गोली हानेपछि मात्र कार रोकियो । हतियारसहितका प्रहरीले घेरा हालेपछि कारमा सवार व्यक्तिले बिरामी लिएर हिँडेकाले रोक्न नसकेको स्पष्टिकरण दिए । तर, प्रहरीलाई विश्वास लागेन । खनतलासी लिँदा कारभित्र फल्स बटम बनाएर १६ वटा पोकामा ३२ किलो लागूऔषध गाँजा लुकाएको भेटियो ।

लगत्तै प्रहरीले चालक ३५ वर्षीय सञ्जित पासवान, विरामी कुरुवाको नाटक गर्ने ३५ वर्षीय अजैमल हवारी र आफूलाई बिरामी भन्ने ४५ वर्षीया जाहेरा खातुनलाई पक्राउ गर्‍यो । उनीहरु सबै भारतको मुजफ्पुरका भएको खुलेको छ । तर, उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मकवानपुरतर्फ ल्याउने क्रममा प्रहरीको ना १ झ १४१७ नम्बरको मोबाइल भ्यानलाई बसले ठक्कर दियो ।

हेटौंडा–११, राप्ती पुल छेऊ भएको घटनामा ५ जना प्रहरी घाइते भए । घाइते हुनेमा प्रहरी निरीक्षक भण्डारीसहित हवल्दार नरबहादुर राई, शुक्रराज खत्री, प्रहरी जवान समुन्द्र श्रेष्ठ र सुरेश कुमाल छन् । घटनामा खातुन पनि घाइते भइन् । अन्य दुई जना तस्कर भने अर्को गाडीमा भएकाले दुर्घटनाबाट जोगिए ।

मंगलबार राति त्यत्रो घटना घटेको भोलिपल्ट उज्यालो नहूँदै हेटौंडा उपमहानगरपालिका-१९ बाट करिब ६३ किलो लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा३ च ५९९७ नम्बरको बलेरो पिकअप रोकेर जाँच गर्ने क्रममा बलेरोको पछाडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी गाडी चालक समेत २ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.