नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट बुधबार सन्यासको घोषणा गर्नुभएको छ । करिब ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिइसक्नुभएकी ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आउनुभएको थियो ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उहाँले एक गोल गर्नुभएको थियो । उहाँको टिम एपिएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जितेको छ ।
एपिएफका खेलाडीले उहाँलाई गार्ड अफ द अनरबाट सम्मान गर्दै बिदाइ गरेको छ । अनुले सन् २०१० मा बङ्गलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यु–२३ टोलीमा डेब्यू गर्नुभएको थियो ।
अनुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । उहाँले साफ च्याम्पियनसीपलगायतका विभिन्न प्रतियोगितामा राष्ट्रिय जर्सीबाट ३५ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्