नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा सविता राना मगरको २ गोलमा एपीएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा सवितासँगै सरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । खेलको ६९औँ मिनेटमा एपीएफकी अर्की खेलाडी सरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।
खेलको ८३औँ मिनेटमा प्रिति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् । उपाधिसँगै एपीएफले रु १० लाख तथा उपविजेता पुलिसले रु पाँच लाख प्राप्त गरेको छ ।
त्यसैगरी प्रतियोगितामा सविता रानामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा बुधबार भएको फाइनल खेलमा एपीएफले पुलिसलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । एपीएफकी फरवार्ड सविता रानामगरले उक्त उपाधिसहित रु एक लाख प्राप्त गरिन् ।
यसैगरी ३५ गोल गरेकी एपीएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपीएफकै सावित्री किसन उत्कृष्ट गोलकिपर चुनिइन् । उनीहरुले जनही रु ५० हजार प्राप्त गरे ।
त्रिभुवन आर्मी क्लबले फेयर प्लेको ट्रफी पाउन सफल भयो । विजेतालाई परराष्ट्रमन्त्री आरजु राणा देउवा, एन्फाका पदाधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्