रेल दुर्घटनामा परी प्रतिष्ठित र सफल व्यवसायी मेघराज नेपालको निधन
जापानमा नेपालीमाझ प्रतिष्ठित र सफल व्यवसायीको छवी बनाउनुभएका इञ्जिनियर मेघराज नेपालको टोकियोमा रेल दुर्घटनामा परी असामयिक निधन भएको छ ।
तीन दशकदेखि जापानमा विभिन्न व्यवसायका सक्रिय नेपाल जापानमा नेपाली पाठ्यक्रम अनुसार अध्यापन हुने एभरेष्ट इन्टरनेशनल स्कुल सञ्चालक समितिका उपाध्यक्ष पनि हुनुहुन्थ्यो ।
समाचार अनुसार यही जनवरी २८, २०२५ (२०८१/१०/१५ गते) बिहान जेआर केइहिन-तोहोकु लाइनको तामाची स्टेशनमा रेलले ठक्कर दिँदा उहाँको निधन भएको थियो ।
यसअघि टोकियो महानगरीय प्रहरी विभागलाई उद्धृत गर्दे याहु न्यूजले २८ तारिख बिहान करिव १०ः४० बजे टोकियोको मिनातो वार्डको जेआर तामाची स्टेशनमा ओमियाबाट कामाता जाँदै गरेको केइहिन-तोहोकु लाइनको द्रुत गतिको रेलले ठक्कर दिँदा एक नेपालको मृत्यु भएको जनाएको थियो ।
झापा घर भई विगत ३ दशकभन्दा लामो समयदेखि श्रीमती, दुई छोरी र १ छोरासंग जापानमा रहनुभएका नेपाल रेष्टुरेन्ट, रेमिटयान्स, मानव संशाधन लगायत विभिन्न व्यवसायमा संलग्न हुनुहुन्थ्यो।
स्व. नेपाल झापाको साविक लखनपुर गाविससबाट छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने पहिलो व्यक्ति भएको र सो क्षेत्रका बालबालिका तथा विद्यार्थीहरुका लागि प्रेरणाको स्रोत भएको सामाजिक सञ्जालहरुमा उल्लेख गरिएका छन् ।
शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै नेपालजापान डट कम परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्