अर्थतन्त्रको ‘सुधार’ जाडोमा केही समय घामलागे जस्तो
एक वर्षयता समस्यामाा परेको नेपाली अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि प्रभावकारी कदम चाल्दै सरकारी वित्त व्यवस्थापनमा रहेको समस्या समाधान नभए यो सुधार पुनः संकटमा झर्ने विज्ञहरुले बताएका छन् ।
उनीहरुले अर्थतन्त्रमा अहिलेको सुधार माघको जाडोमा केही समय घाम लागेको जस्तो मात्र भएको भन्दै सुधारका लागि सरकारले तत्काल कदम नचाले नेपालमा थप आर्थिक जटिलताहरू निम्तिनसक्ने बताएका न् ।
सरकारी विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको तुलनामा व्यापार घाटामा केही कमी आएको छ। तर यस अवधिमा आयात तथा निर्यात दुवै घटेकाले त्यसको प्रत्यक्ष प्रभाव राजस्वमा परेको छ।
भन्सार विभागको विवरणअनुसार गत साउनदेखि पुस मसान्तसम्म नेपालको व्यापार घाटा ७ खर्ब ११ अर्ब रूपैयाँ देखिएको छ। गत वर्षको त्यसै अवधिका तुलनामा यो १९.१५ प्रतिशतले कम हो।
व्यापार घाटा कम हुनुलाई राष्ट्रिय अर्थतन्त्रका हिसाबले सकारात्मक मान्ने गरिए पनि नेपालको जस्तो आयातमुखी अर्थतन्त्रमा त्यसको प्रत्यक्ष प्रभाव राजस्वमा पर्ने गरेको छ।
विदेशी मुद्रा सञ्चितिमा कमी आउनुका साथै बजारमा लगानीयोग्य रकमको अभाव समेत हुन थालेपछि गत वैशाखमा एक दर्जन जति विभिन्न वस्तुको आयातमा सरकारले प्रतिबन्ध लगाएको थियो ।
महालेखा परीक्षकको कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारले राखेको राजस्वको लक्ष्य प्राप्ति नभएको मात्र होइन गत वर्षको तुलनमा यसपालि राजस्व घटेको पनि छ।
गत वर्ष साउनदेखि पुससम्मको तुलनामा यसपालि सोही अवधिमा १३ प्रतिशतभन्दा बढी राजस्व कम उठेको देखिएको छ। त्यसले गर्दा उठेको राजस्व चालु खर्चका लागि मात्र पर्याप्त हुने जस्तो अवस्था बनेको छ।
यद्यपि अहिले त्यस्तो प्रतिबन्धन हटिसकेको छ। आयात प्रतिबन्धले राजस्वमा प्रभाव परेको कतिपयको बुझाइ छ। तर पूर्व अर्थसचिव रामेश्वर खनाल राजस्व घट्नुमा आयात प्रतिबन्ध मात्र कारण नभएको बताउनुहुन्छ ।
पूर्व अर्थसचिव खनाल नेपालमा केही आर्थिक सूचकमा सुधार आएको जस्तो देखिएको भए पनि सरकारी वित्त व्यवस्थापनमा चाहिँ गम्भीर समस्या देखिनसक्ने अवस्था बनेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ “सरकारको वित्त व्यवस्थापनमा ठूलो समस्या छ। यो समस्याको कारणले भोलि बजारमा फेरि नकारात्मक असर पर्नसक्ने अवस्था पनि हुन्छ। त्यो हुँदा सरकारले आन्तरिक ऋणको रकम बढायो भने त्यसले अझ मूल्य बढाउँछ।”
कतिपयले नेपालको ब्याङ्क तथा वित्तीय क्षेत्रका केही सूचकमा सुधार देखिएको तथा रेमिट्यान्स पनि बढ्न थाल्नुलाई सकारात्मक भनिरहेका छन्। यद्यपि जानकारहरूले त्यसलाई दिगो सुधारका रूपमा लिएका छैनन् र उनीहरूका भनाइमा यस्तो अवस्था कुनै पनि बेला अन्त्य हुनसक्छ।
अर्थशास्त्रीहरूका भनाइमा अहिले नेपाली अर्थतन्त्रमा देखिएको सुधार टिकाउ हुने जस्तो देखिँदैन। अर्थशास्त्री केशव आचार्यका अनुसार विगत एक वर्षदेखि सरकारले र राष्ट्र ब्याङ्कले आयातमा केही कडाइ गरेकाले यो सुधार देखिएको हो । हाम्रो अर्थतन्त्र मजबुत भएर वा बलियो भएर आएको होइन ।
अहिले नेपालको भुक्तानी सन्तुलनमा मात्र केही सुधार आएको देखिन्छ। तर स्वदेशी उत्पादन बढाउने वा सेवा क्षेत्रमा सुधार गर्ने कार्य नभएको उहाँ बताउनुहुन्छ ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार अहिले नेपालसँग १० महिनाको आयातका लागि पुग्ने विदेशी विनिमय मौज्दात रहेको छ । तर, त्यसले गर्दा मात्र यो टिकाउ हुन्छ भन्ने छैन । अहिले आयात पूर्ण रूपमा खुला गरिएको छ, सुधारका कदम नचाले फेरि ६/८ महिनापछि फेरि उस्तै होला भन्ने डर रहेको आचार्य बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्