राजनीति

पार्टीभित्र वैचारिक बहस आवश्यक : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी) को छैटौँ केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पुर्याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताउनुभयो । पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने र विधानलाई बलियो बनाउने काम गरेका छौँ ।”

पार्टीको विधानले ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिताको व्यवस्था सुनिश्चित गरेको जानकारी दिँदै अध्यक्ष नेपालले पार्टी सङ्गठनप्रति युवा आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा उद्यमशीलताको विकास गरी जनतालाई गरिबीबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “जति पनि कम्युनिष्ट पार्टी छन् तिनले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन् ।”

सङ्गठनकी अध्यक्ष एवं पार्टी उपाध्यक्ष जयन्ती राईले सङ्गठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन महिला अधिकारलाई संरक्षण गर्न आर्थिक सशक्तिकरणमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.