प्रधानमन्त्रीले भने पनि तत्काल मन्त्रीहरु फेरिंदैनन्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै फेर्ने बताइरहँदा कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री गुरुङले अहिलेको अवस्थामा आफ्नो दल मन्त्रिपरिषद् हेरफेरको पक्षमा नरहेको बताउनुभएको हो ।
बुधबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अहिले मन्त्री फेरबदल गर्ने अवस्थामा कांग्रेस र सरकार दुवै नरहेको स्पष्ट पार्नुभएको हो ।
उहाँको दावी छ, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही मन्त्रिपरिषद् ठीक छ भन्ने सबैको भनाइ छ,त्यसैले तत्कालका लागि मन्त्री फेरबदल हुँदैन । बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र छैन ।’
त्यसै गरी पत्रकार सम्मेलनमा उहाँले तत्कालीन माओवादी सशस्त्र युद्ध र अन्य आन्दोलनसँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी सरकार क्रियाशील रहेको पनि बताउनुभयो ।
उहाँले सहमतिका आधारमा अबको अधिवेशनबाट विधेयक टुंगो लगाउने प्रयास भैरहेको यदि त्यसो हुन नसके सरकारले प्रक्रियामा गएर भए पनि टुंगो लागाउने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्