रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गर्दै सभामुखलाई निवेदन
सहकारी ठगी तथा सम्पत्ति शुद्धिकरणको अभियोग लागेलगत्तै सांसदबाट निलम्बन गरिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिनुभएको छ ।
संघीय संसदको बैठक आरम्भ हुने दिन माघ १९ गते लामिछानेले सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दै सभामुख घिमिरेको कार्यकक्षमा पुगेर निवेदन दिनुभएको हो
निवेदनमा लामिछानेले अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको उल्लेख गर्नुभएको छ
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उहाँमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।
रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्याएको टिप्पणी समेत गर्दै आएको छ भने संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो ।
कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रकै आधारमा लामिछानेको सांसद पद निलम्बनमा नपर्नुपर्ने जिकिर रास्वपाका नेताहरूले गर्दै आएका छन् ।
पुस ८ गते नै रास्वपा सांसद्हरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर लामिछानेको निलम्बनबारे ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया राख्नुहोस्