एपिएफ अस्पतालमा असहायलाई निःशुल्क सेवा, सम्झौतापत्रमा हस्ताक्षर
नेपाल एपिएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त सम्झौता गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानवसेवा आश्रमका संरक्षक डा गोविन्द टन्डनको उपस्थितिमा आश्रम र अस्पतालबीच सम्झौता भएको जनाइएको छ ।
यही माघ ९ गते २० औं सशस्त्र प्रहरी दिवस २०७७ को अवसरमा आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजना मार्फत आश्रममा रहेका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुलाई नेपाल एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘मानव सेवा नै सवैभन्दा ठूलो धर्म हो’ भन्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा र सेवाका कार्यहरु सँगसँगै गर्दै जाने र यस किसिमको कार्यले ती असहाय मानिसहरुको आर्शिबाद संगठनलाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यस प्रकारको पवित्र कार्यले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई सेवामा लाग्नका लागि उर्जा प्राप्त हुने र सो आश्रममा आश्रितहरुलाई दिईने स्वास्थ्य सेवाले अस्पतालको सेवा विस्तार हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डनले सो आश्रममा आश्रितहरुको उपचारका लागि विगतमा धैरै अस्पताल भौतारिनु पर्ने बाध्यता रहेको र सोचे जस्तो उपचार समेत पाउन नसकेको अप्ठ्यारा दिनहरुको स्मरण गर्नुहुँदै यस पवित्र कार्यका लागि सशस्त्र प्रहरी बल, नेपालप्रति खुशी र कृतज्ञता व्यक्त गर्नुभयो ।
यस सम्झौतासँगै सो आश्रमका आश्रितहरुले नेपाल एपीएफ अस्पतालमा उपलब्ध ईमरजेन्सी, बहिरङ्ग, जनरल, तथा विशेषज्ञ ओपीडी, अन्तरङ्ग सेवा अन्तर्गतका वार्ड सवै, आईसीयु, एचसियु एचडियु, माईनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछ ।
यसैगरी रेडियोलोजी अन्तर्गत एक्सरे, सीटी स्क्यान, अल्ट्रासाउण्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आईसीयु र डाईलासिसको लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधीहरु, मुटुरोग, मृगौला रोग मधुमेह आदि भई आजिवन औषधी सेवन गर्नुपर्ने बिरामीहरुको लागि आस्पतालमा उपलब्ध औषधीहरु समेत निःशुल्क उपलब्ध गराइने छ ।
यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरुलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिण्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ्ग र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शब वाहन सेवा, अस्पतालबाट खरिद गरिएका औषधीहरु आश्रमका बिरामीहरुलाई निःशुल्क प्रदान गरिने समेत सम्झौतामा उल्लेख छ ।
सो सम्झौतामा नेपाल एपीएफ अस्पतालमा हाल कायम भएको ११० शैय्याको बेड मध्ये मानवसेवा आश्रमका बेसहारा, असक्त, असहाय एवं अभिभावक विहिनहरुलाई तीन शैय्याको बेड उपलब्ध गराइने उल्लेख गरिएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगाएत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो आश्रमका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्