सम्पादकीय

मुलुक असफलताको अर्को श्रृङ्खला

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आफूमाथि विश्वासको मत माग्ने क्रममा यसपटक आफू केही गर्ने उद्देश्यका साथ आएको र बालुवाटारको तेस्रोपटकको यात्रा मुलुकको विकास, समृद्धि र सुशासनका लागि खर्चने प्रण गर्नुभयो । अन्यथा नसोची सिधा यही कुरालाई मात्र हेर्ने हो भने उहाँको कथनलाई सबैले स्वीकारे र २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा २ सय ६८ मत पाएर अभूतपूर्व अभिलेख दर्ज गर्नुभयो ।

प्रधानमन्त्री बन्दा नै १ सय ६९ सदस्यको समर्थन पाउनुभएका प्रधानमन्त्री प्रचण्डलाई जसले जसरी विश्वाको मत दिए र जेजस्ता राजनीतिक दलहरु सरकारमा सामेल भए, अनि उहाँ कसरी कांग्रेसको पोल्टाबाट उछिट्टिएर एमालेककोा पोल्टामा पुग्नुभयो, यो भने आश्चर्यको विषय होइन र सत्ता उहाँका लागि कति प्यारो छ भन्ने पुष्टि मात्र हो ।

जब विश्वासको मत पाउनुभयो, तब प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पासा फालेर एमाले तर्साउने र कांग्रेस पकाउने रणनीति लिनुभएको छ । यसो गर्दा उहाँलाई जुनसुकै बेला बहुमत कायमै रहन्छ । तर, मुुलुकले के पाउँछ भन्ने प्रश्नको उत्तर भने छैन ।

यथासमयमै जवाफदेहितापूर्ण शैलीमा काम गर्ने शासकीय चरित्र निर्माण हुन नसक्दासम्म देशको हातल सप्रनेतिरभन्दा विग्रनेतिर नै उन्मुख हुनेछ । मन्त्रिमण्डल विस्तारमा देखिएको बिलम्बले पनि घनीभूत हुँदैगएका राष्ट्रिय तथा जनसरोकारका समस्याहरूको निदानप्रतिको विश्वास पनि जागृत हुन नसकेको अवस्था छ । चौतर्फी असफलताको श्रृङ्खला टुटाउने साहस, क्षमता र दृढ इच्छाशक्तिको शासकीय चरित्र निर्माण नै आजको आवश्यकता हो भन्ने समयबोध हुनु अति आवश्यक छ ।

शासकीय बेथिति र असफलताकै कारण देशको वर्तमान अवस्था धेरै नाजुक हालतमा पुगेको छ । सिद्धान्त, विचार, निष्ठा र नैतिकता स्खलित हुँदैगएको र सत्तालाई मात्र केन्द्रबिन्दुमा राखेर हुने गरेको संसदीय राजनीतिको विष्मयकारी अभ्यासले मुलुकको आन्तरिक क्षमता वृद्धिमा जुन रुप र गतिमा क्षति पुर्याइरहेको छ त्यसैले निरन्तरता पाउनेबाहेक सकारात्मक परिणतिप्रतिको अपेक्षा पुनः धुमिल हुन थालेको आभास बिलम्बै बिलम्बका प्रकरणहरूले दिन थालेका छन् ।

मुलुकमा भागबण्डा गरौं मिलिजुली खाउँको अपसंस्कृति वरण गर्ने जुन चलन बसेको छ त्यसैको निरन्तरताका निम्ति सत्ता राजनीतिभित्र राष्ट्रिय सहमतिको नाममा रस्साकस्सी चलिरहेको छ । सेवामुखी राजनीति र देश तथा जनताप्रति उत्तरदायी र जवाफदेही सरकारको अपेक्षा आकाशको फल जस्तै सावित भैरहेको छ । यथासमयमा निर्णय गर्ने र काम तामेल गर्ने क्षमता नदेखाउने सत्ता नेतृत्वको दुर्बलताभित्रका अन्तर्निहित जे जस्ता कारणहरू रहेका भए पनि समग्रतामा त्यसको प्रतिकूल असर राज्यका यावत अंगहरूमा परिरहेको छ ।

मुलुकको शासकीय चरित्रमासुधार नभएसम्म अपेक्षित नतिजा कदापि निस्किन सक्दैन । तर, सत्ता केन्द्रित राजनीतिमा त्याग, सेवा र समर्पणको कुनै अर्थ नरहेको बोध सत्ता अभियन्ताहरूले यसरी नै गराइरहेका छन् । सीमित क्षेत्रमा मात्र प्रभाव जमाइरहेको नेपाल मजदुर किसान पार्टीलाई अपवादमा छोडेर सत्ता बाहिर बस्ने धैर्य संसदभित्र प्रवेश पाएका कुनै पनि राजनीतिक दलसंग छैन भन्ने प्रमाणित भैसकेको छ ।

शक्तिमा बसेर खाइखेलो गर्दैआएका दलहरू हुन् वा उदीयमान दलहरू हुन् सत्तावृत्तमा नै घुमिरहेका छन् । संसदमा प्रतिपक्षी दल नै नरहने जस्तो अवस्था सिर्जित छ । विपरीत धर्मीहरूबीचको गठजोड देशलाई माथि उकास्नका लागि प्रभावकारी बन्न नसकेको यथार्थ जताततै छताछुल्ल छ ।

‘काले काले मिलेर खाउँ भाले’को अपसंस्कृति अनुशरण हुनु भनेको मुलुकलाई थप कमजोर बनाउनु बाहेक केही होइन । पुनः अवसर पाए बेथितिको विगत उल्टाउने भ्रमले असफलताको श्रृङ्खला टुटाउने क्षमता र प्रतिबद्धता दुबै देखाउन सक्ने विश्वास गर्न सकिने आधार नै बनेको छैन भन्नु अत्युक्ति हुँदैन ।

भ्रष्टाचारै भ्रष्टाचारका गाथाले राष्ट्रिय लगानीका आयोजनाहरू थलिएका छन् । ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भने झै मन्त्री बन्नासाथ फूर्तीफार्ती गर्नेहरू पनि थाक्दै जाने गरेको देखिँदैछ । जिम्मेदारी बोध गरेर र सेवाभाव राखेर थोरैमात्र पनि सिर्जनात्मक कामप्रति ध्यान दिएमा वाञ्छित नतिजा नआउने देखिँदैन तर चटके प्रवृत्तिको निरन्तरताले बैथितिको श्रृङ्खला टुट्न कदापि सक्नेछैन ।

बेथिति र विधिविहीनताको दवदवा कतिसम्म छ भन्ने उदाहरण एक होइन अनेक छन् । ताजा सन्दर्भमा देशका प्रायः सबै जिल्लामा वर्षौंदेखि अवैध रूपमा चलेका रोडाढुंग उद्योगहरू नै यसको साक्षी छन् । देशका ठूला लगानीका विकास निर्माण आयोजनाहरू बेथितिकै शिकार बनेका कारण दश खर्बको लगानी पच्चीस अर्ब पुग्दा पनि आयोजनाहरू अधुरै छन् । किसानहरूले समयमा मल पाउँदैनन् न त धान तथा उखुको समर्थन मूल्य नै यथा समयमा निर्धारित गर्न सरकार अग्रसर हुन्छ ।

मुलुक रुपान्तरणका लागि आवश्यक दक्ष र स्वस्थ जनशक्ति उत्पादन गर्ने शिक्षा–स्वास्थ्य क्षेत्रको बेथिति र बेहालको कुरा गरिसाध्य नै छैन । यी क्षेत्रमा घुसेका माफियाहरुले सुधारको बाटो नै रोकेका छन् । उनीहरु यति शक्तिशाली छन् कि जोसुकैलाई ठेगान लगाउने हैसियत राख्दछन् । काम गर्छु, मुलुक सपार्छु भन्दै सत्तामा पुगेकाहरुको कार्यशैलीबाट मुलुक असफलताको अर्को श्रृङ्खलामा पुगेको प्रचूर आभाष छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.