प्रदेशबागमती

सुशासन र आर्थिक समृद्धिमा लाग्न प्रदेश प्रमुखको आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गर्नुभएको छ । बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उहाँले जनतासँग सरोकार भएका ऐन, कानुन एवं पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडीबुटीलाई संरक्षणका लागि आवश्यक पर्ने नियमको तर्जुमा गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा

प्रमुख शर्माले जनतालाई प्रदेशसभा हाम्रो नै हो भन्ने भावना अभिव्यक्ति गर्न सभाका सदस्यले आफूलाई व्यवहारिक बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रदेशसभा, प्रदेश सरकार र स्थानीय निकायबीच समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा सन्तुलित विकासको आयोजनालाई कार्यान्वयनमा ल्याउन र जनताप्रति जवाफदेही बनाउने कार्यलाई अब आत्मसमीक्षा गरेर प्रदेशसभाको भूमिकालाई अझै प्रभावकारी तुल्याउनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विगत पाँच वर्षको अवधिमा प्रदेशसभाबाट ७० वटा ऐन, कानुन निर्माण गरी व्यवहारमा लागू गरिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा विगतको अनुभवलाई समीक्षा गरेर टुक्रे योजनालाई अब बाँडफाँट होइन, समष्टीगतरुपमा आवश्यकताअनुरुप एक योजनालाई कार्यसम्पादन गर्नेतर्फ प्रदेश सरकारको उच्च प्राथमिकता रहने उहाँले बताउनुभयो ।

प्रदेश सरकार अहिले परिणामुखी विकास योजनालाई लक्ष्यका साथ अघि बढाउन लागिपर्ने उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले अहिले जनतालाई प्रदेश सरकारले राम्रो काम गर्छ भन्ने भावना विकसित गर्ने विश्वास दिलाउनुभयो । उहाँले आगामी दिनमा प्रदेशका विकास आयोजनाले प्रत्यक्ष जनतालाई लाभ पु¥याउनेगरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशसभाको दोस्रो कार्यकालले अझै विभिन्न ऐन, कानुनको तर्जुमा गरी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने, भ्रष्टाचारको नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति उपलब्ध गराउने र प्रशासन यन्त्रलाई निष्पक्षका साथ जनताप्रति उत्तरदायित्व बोध गराउनेतर्फ सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने फाखेल सडकखण्डलाई विस्तार, मर्मतसम्हार गर्न केही हप्तापछि सो सडकमा चल्ले यातायातलाई बन्द गरी काठमाडौँबाट हेटौँडातर्फ आउने कान्ति राजपथलाई सञ्चालनमा ल्याउनेतर्फ पहल भइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री जम्मकट्टेलले करिब दुई महिनासम्म कान्ति राजपथमा यातायात सञ्चालनमा रहने उल्लेख गर्नुभयो ।

उक्त अवसरमा बागमती प्रदेशका सभामुख भुवककुमार पाठकले जनताको अपेक्षालाई प्रदेशसभाले ग्रहण गरेर आवश्यक ऐन, कानुनको तर्जुमा गरी राष्ट्रिय सरोकारको विषयमा प्रदेशसभाले ध्यानाकर्षण गरी सरकारलाई मार्ग दर्शन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशसभामा विभिन्न राजनीतिक दलको विचार र सिद्धान्त फरक रहे पनि प्रदेशसभामा निष्पक्ष, पारदर्शी र जनताप्रति जवाफदेही बनाउने कार्यलाई आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले प्रदेशसभाका सदस्यले पनि आफू निर्वाचित भएर आएको क्षेत्रको जनताप्रति जवाफदेही र जिम्मेवार हुन प्रदेशसभामा प्रस्तुत हुने विभिन्न विधेयक ऐन, कानुनलाई समय दिएर अध्ययन र अनुसन्धान गरी राष्ट्रिय सरोकारमा बल पु-याउन आग्रह गर्नुभयो ।

सो अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पूर्वसभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशसभाको स्थापनाको क्रममा पूर्वाधारको साथै आवश्यक कर्मचारीको अभावले पर्याप्त प्रदेशसभालाई सञ्चालनमा ल्याउन कठिनाइ रहेको बताउनुभयो । उहाँले प्रदेशसभाले अझै प्रदेशमा सुशासन ल्याउन जनतालाई प्रदेशसभाप्रति आस्थावान बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईं र नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले विगतमा प्रदेशसभामा भएका गतिविधि र ऐन, कानुनका तर्जुमा बैठकको विधि प्रक्रियालाई आत्मसमीक्षा गरेर प्रदेशसभामा अब जनतालाई नै उत्तरदायित्व तुल्याउने भूमिकालाई निर्वाह गर्नेतर्फ पाइला चालिनुपर्ने बताउनुभयो ।

उक्त समारोहमा प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभा सचिवालयद्वारा प्रकाशित पुस्तकको पनि आजै विमोचन गर्नुभयो । यसैगरी प्रदेशसभा सचिवालयका कर्मचारी धीरज ढकाल, चन्द्रप्रसाद घिमिरेलगायतका कर्मचारीलाई नगद पुरस्कार र प्रशंसापत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.