‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस’
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार भेटमा पूर्वगृहमन्त्री निधिले अभियानका क्रममा सुमदायमा तीन तहका सरकारले गरेका विकास– निर्माणका गतिविधि, जनताका समस्या बझ्नेदेखि समाधानका लागि पहल गर्नेसम्मका प्रक्रिया प्रारम्भ, पार्टीप्रतिको जनताको धारणा बुझ्ने र ‘जनताको पार्टी कांग्रेस हो’ भन्ने विश्वास दिलाउन प्रयास गरिने बताउनुभयो ।
नेता निधिले यो अभियान आगामी २०८४ सालमा हुने निर्वाचनलाई केन्द्रित गरेर सञ्चालन भएकाले इमान्दाररुपमा सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग वाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्ने बताउनुभयो ।
नेता निधिले सङ्घीयताको मर्मअनुसार प्रदेशले आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । त्यसका लागि प्रदेश सरकार मातहतमा प्रदेश प्रहरी, कर्मचारी सङ्गठन निर्माणसँगै कामका लागि केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्