राजनीति

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गर्नुुभएको छ ।

कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको आइतबार पोखरामा उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा हालैदेखि क्रियाशील बन्न सबैलाई आग्रह गर्नुभएको हो ।

सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यहाँ आवश्यक पूर्वाधार विकासमा पनि त्यतिकै ध्यान दिन जरूरी रहेको र अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्ने धारणा राख्नुुभयो ।

“पर्यटकीय नगरी पोखरामा आउने पर्यटकले आवयक सुविधा प्राप्त गर्नुपर्छ । त्यसका लागि यहाँ रहेको विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गरिनुपर्छ । पोखराको सुन्दरतालाई जोगाउनका साथै यहाँको समग्र विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्छ”, सभापति देउवाले भन्नुभयो ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई भन्दा पनि पार्टी र राष्ट्रलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुुभयो ।

अर्का सहमहामन्त्री जीवन परियारले पार्टीको महानगर समितिको सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधिका रूपमा रहनेगरी विधानमा व्यवस्था गर्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो । उहाँले पार्टीको सङ्गठन बलियो बन्नका लागि तल्लो टोल कार्यसमितिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पार्टीबाट भए गरेका कामलाई सामाजिक सञ्जालको माध्यमबाट जनमानसमा पु¥याउन सकारात्मक भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारले असल मनसायका साथ जनताको पक्षमा काम गरिहेको र ती काम प्रचारमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादका साथै धार्मिक स्वतन्त्रताको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुुभयो । कांग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले महानगर समितिलाई बलियो बनाउनुुपर्ने बताउनुुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू नैनसिंह महर, गोविन्द भट्टराई, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनका लागि केन्द्रदेखि तल्लो निकायसम्मका नेता तथा कार्यकर्ता आ–आफ्ना स्थानबाट लाग्नुपर्नेमा जोड दिनुुभयो ।

कार्यक्रममा महानगरपालिकाको पूर्वकार्यसमितिका साथै साबिक पोखरा र लेखनाथ नगरसमितिका सभापतिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.