जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिन लम्बिएको छ । अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि छलफल सम्पन्न नभएकाले बैठक सोमबार पुनः बस्ने भएको हो ।
शनिबारदेखि ललितपुरको बालकुमारीमा जारी बैठकमा सङ्गठन सुदृढीकरणका लागि चार महिनायता सञ्चालन भइरहेको अभियानको समीक्षा गरिएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ । बैठकमा पार्टीका प्रदेश, जिल्ला र पालिकास्तरका अधिवेशन आगामी वैशाखसम्म सम्पन्न गर्न निर्देशन दिइएको अध्यक्ष यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो ।
बैठकमा सङ्गठनको जिम्मेवारी हेरफेर, विभागीय नेतृत्व बाँडफाँट तथा केन्द्रीय सल्लाहकार समिति गठनबारे छलफल भएको छ । कार्यकारिणी समितिमा नयाँ सदस्य समावेश गर्न गठित कार्यदलको प्रतिवेदनमाथि सोमबार थप बहस हुने जनाइएको छ ।
सोमबारको बैठकले मधेश केन्द्रित दलहरूसँग संयुक्त मोर्चा निर्माण, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशाबारे निर्णय लिने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्