राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आफ्नो चौथोखेलमा पनि नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल थाइल्यान्ड्ससँग पाँच रनले पराजित भएको हो ।
जारी प्रतियोगितामा यो नेपालको लगातार चौथों हार हो भने थाइल्यान्डको चौथों जित । हारसँगै शीर्ष स्थानमा रहँदै शृंखलाको उपाधि जित्ने नेपालको सम्भावना समाप्त भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गमाउँदै एक सय छ रन बनायो ।
थाइल्यान्डका लागि चानिदा सुथिरुआङ र थिपाचा पुथावोङ क्रमश:२७ र २५ रनमा अविजित रहे भने नान्नापत कोन्चारोएनकाई १९ रन बनाइन् । त्यस्तै अफिसरा सुवान्चोनरथीले १७ रन जोड्दा नट्टाया बुचाथमले १० रन बनाइन् ।
नेपालको लागि मनिषा उपाध्यायले तीन विकेट लिइन् भने पुजा महतो र रचना चौधरीको भाग्न समान एक-एक विकेट रह्यो । थाइल्यान्डले प्रस्तुत गरेको एक सय सात रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय एक रनमात्र बनाउन सक्यो ।
नेपालका लागि रुविना क्षेत्रीले ३० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २६ रनको बनाइन् भने कविता जोशीले २४ रन जोडिन् । त्यस्तै रोमा थापा १९ रनमा अविजित रहँदा पुजा महतोले १८ रन बनाइन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्