विश्वमै पहिलो बहुभाषिक नेपाल भाषा क्यालेन्डर हस्तान्तरण
नयाँ नेपाल सम्वत् ११४५ को अवसर पारेर सार्वजनिक गरिएको विश्वमै पहिलो बहुभाषिक भित्तेपात्रो (क्यालेण्डर) विभिन्न मुलुकमा प्रचार गर्ने क्रममा जापानमा नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

नेपाल संवत् ११४५ को उपलक्षमा, नयाँ वर्षको पहिलो दिन (११४५ कछला १, नोवेम्बर २, २०२४) मा विश्वको पहिलो नेपाल लिपि लिखित क्यालेन्डर जारी गरिएको थियो । यो क्यालेण्डर नेपाल भाषा, खस भाषा (नेपाली) र अंग्रेजी भाषामा सम्पादन गरिएको विश्वको पहिलो बहुभाषिक क्यालेण्डर हो ।
यस क्यालेण्डरको पहिलो प्रति यँ (काठमाडौं)मा भएको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री केपी ओली तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ र अरु विशिष्ट व्यक्तिहरूलाई हस्तान्तरण गरिएको थियो।
प्रख्यात नेपालभाषा चलचित्र निर्देशक आर्यम नकर्मीको नेतृत्वमा रहेको नेपाल भाषा चलचित्र विकास केन्द्रले उक्त क्यालेण्डर हस्तान्तरण गरेको थियो।
यता जपानमा यस ऐतिहासिक नेपाल क्यालेन्डरको पहिलो प्रतिलिपि जापानका लागि नेपाल राज्यदूत डा. दुर्गाबहादुर सुवेदीलाई टोकियोस्थित नेपाली दूतावासको कार्यालयमा हस्तान्तरण गरिएको हो ।
क्यालेन्डरको संपादक र डिजाइनर डा. सुवन् वज्राचार्यद्वारा हस्तान्तरण गरिएको थियो, जसले नेपाल संवत ११३० देखि यसको अनलाइन संस्करण प्रकाशित गर्दै आउनुभएको छ ।
डेढ दशकदेखि अनलाइन रुपमा सार्वजनिक हुँदै आएको सो क्यालेण्डरको पहिलो मुद्रित संस्करण काठमाण्डूस्थित नेपाल भाषा सिनेमा विकास केन्द्रले जिम्मा लिएको हो ।
नेपाल क्यालेन्डर ११४५ ग्रहण गर्नु भएपछि राज्यदूत डा. सुवेदीले जपान तथा विश्वमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष ११४५ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल–लिपिमा पहिलो पटक लेखिएका नेपालको मौलिक क्यालेन्डर प्रकाशित भएकोमा प्रशंसा गर्दै उहाँले यी गतिविधिले जापान र विश्वमा नेपालको प्रवद्र्धनमा योगदान पुर्याउने बताउनुभयो ।
सो क्यालेण्डर नेपालमा बस्नुहुने महानुभावहरुले यँ (काठमाडौं) स्थित भाषा सिनेमा विकास केन्द्रको कार्यालयमा सम्पर्क गरेर आफ्नो प्रतिलिपि प्राप्त गर्न सक्नुहुन्छ भने, जपान र अन्य देशमा बस्नु हुने महानुभावहरुले हुलाक शुल्क पठाएर admin@nepal-lipi.com प्राप्त गर्न सकिने वज्राचार्य जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्