सरकारले चाहेजस्तो मुद्दा नचलाउने सरकारी वकिलमाथि छानबिन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मात्र मुद्दा दर्ता गरेर सरकारको चाहना विपरीतको काम गर्नुभएका जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद लुइँटेल रातारात सरुवा हुनुभयो ।
उहाँलाई सरुवा मात्र गरिएन महान्यायाधिवक्ताको कार्यालयले अभियोगपत्रमाथि अध्ययन गर्न छानबिन समिति नै गठन भएको छ ।
चितवन सरकारी वकिल कार्यालयको उक्त अभियोग त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायधिवक्ता कार्यालयले सो अभियोगपत्रमाथि अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता गोपालप्रसाद रिजाल संयोजक रहनुभएको सो समितिका सदस्यहरुमा सहन्यायधिवक्ता तथा महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल, उच्च वकिल सरकारी कार्यालय हेटौँडाका सहन्यायधिवक्ता ईश्वरीप्रसाद ढकाल र सदस्य सचिवमा महान्यायधिवक्ता कार्यालयका उपन्यायधिवक्ता रुद्रप्रसाद आचार्य रहनुभएको छ ।
महान्यायधिवक्ता कार्यालयका प्रवक्ता दाहालकाअनुसार चितवन सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्र त्रुटिपूर्ण देखिएकाले छानबिन समिति गठन गरिएको हो ।
महान्यायाधिवक्ता कार्यालयले रास्वपाका अध्यक्ष लामिछानेसँग साठगाँठ गरे वा दबाबमा परेर यस्तो अभियोगपत्र दायर भयो भन्ने गम्भीर आशंकामा छानबिन समिति गठन गरेको जनाएको छ ।
सरकारले दबाब दिएर सरकारी वकिल कार्यालयले यस्तो अभियोगपत्र दर्ता गरेको भन्ने भाष्य निर्माण गरिए पनि सो निर्णय यथार्थ नभएको महान्यायधिवक्ताको कार्यालयले जनाएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा रास्वपाका अध्यक्ष लामिछानेसहित ३२ जना विरुद्ध अभियोगपत्र दायर गरिएको थियो ।
रास्वपाका सभापति लामिछानेसहित २० जना विरुद्ध चितवन जिल्ला अदालतमा ठगीको मुद्दामात्र दर्ता गरिएको थियो । अन्य तीन अदालतमा सङ्गठित अपराध र सम्पति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो ।
सरकारी वकिलको कार्यालयले १२ जना विरुद्ध सहकारी ठगीसंगै सङ्गठित अपराध र सम्पति शुद्धिकरणको मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्