भित्रिएको पूँजी खर्च गर्न समस्या भयो : अर्थमन्त्री डा. महत
मुलुकको अर्थतन्त्रका बारेमा सरकारको दावी, सार्वजनिक भएका तथ्यांक र विज्ञहरुको धारणा समान छैन । कोही अझै पनि अर्थतन्त्र समस्यामै रहेको बताइरहेका छन् भने सरकार लयमा रहेको दावी गर्छ ।
चालू आर्थिक वर्षको ६ महिनाको सूचकांक हेर्दा पनि अर्थतन्त्र विगतमा जस्तो समस्याग्रस्त छैन । तर, सही बाटोमा भने अझै पनि आइसकेको छैन । यसलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि स्वीकार्नुभएको छ ।
उहाँले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको र त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताउनुभाएका छ ।
बुधबार राजधानीमा आयोजित एक समारोहमा मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताउनुभयो ।
इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ ।’
मन्त्री महतले विगतमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भएको, दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भएको र आवश्यकताभन्दा ठूला ठूला संरचनामा खर्च भएका कारण यस्तो अवस्था आएको बताउनुभयो ।
त्यस क्रममा उहाँले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको उदाहरण दिनुभयो ।
‘उहाँले भन्नुभयो, बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्छ । तर समग्रमा अर्थतन्त्र लयमा फर्किंदै गरेको र बाह्य रआन्तरिक क्षेत्र सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ ।’
अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिंदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको र आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने दावी गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्