राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरू लेखाजोखा गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
![Prakashman 25 magh](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/Prakashman-25-magh--e1738917157162.jpg)
शुक्रबार काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उहाँले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने पनि बताउनुभया ।
समारोहलाई सम्बोधन गर्दै सिंहले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको स्मरण गर्दै त्यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो ।
“संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?”
उहाँले प्रश्न गर्नुुभयो, “तपाईं हामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुपर्यो । राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।”
उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गर्नुभयो ।
यसैगरी उहाँले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौँ क्षेत्र नं १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्