उपराष्ट्रपति रामसहायप्रसाद यादव जापानका सम्राट नारूहितोको ६५औँ शुभजन्मोत्सवका उपलक्ष्यमा काठमाडौँस्थित जापानका राजदूत तोरू मायदाले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुनुभयो ।

राजदूत मायदाको निवास ताहचलमा आयोजित समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र बाबुराम भट्टराई, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे सहभागी हुनुहुन्थ्यो ।
त्यसअवसरमा मन्त्रिगण, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, प्राध्यापक, उद्योगी, व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका साथै समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।
कार्यक्रममा राजदूत मायदाले अतिथिहरूको स्वागत गर्दै जापान–नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताउनुभयो ।
नेपाल–जापान सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा विस्तार भइरहेको बताउँदै उहाँले अहिले जापानमा सूचना प्रविधिलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गरिरहेको जानकारी दिनुभयो ।
नेपालको आर्थिक विकासमा जापानले विभिन्न क्षेत्रबाट सहयोग पुर्याइरहेको बताउँदै राजदूत मायदाले गोर्खा केन्द्रबिन्दु भई गएको विसं २०७२ को भूकम्पपछि जापानी सहयोगमा नेपालमा दुई सयभन्दा बढी विद्यालय भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्