जन सरोकार

वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो

महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाएको छ । पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जङ्गली हात्तीको उपद्रो बढेको हो ।

बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु

जिल्लाका गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जङ्गली हात्तीले उपद्रो मच्चाएका छन् । तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वा बताउनुहुन्छ । यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ ।

बिहीबार रातिमात्र हात्तीले गौशाला–८ ढल्केबरमा पाँच÷सातवटा गोठघर भत्काइ दिएको छ । गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पुर्याएको छ । जङ्गली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन् ।

अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर  जाने गरेको गौशाला–८ ढल्केबरकै मीन रहपाल बताउनुहुन्छ । पछिल्लो जारी साताभित्रै (गत आइतबारयता ) हात्तीको समूहले आफ्नो वडाका विभिन्न बस्तीमा गरी १० बिघा बढीको बालीनाली सखाप पारेको गौशाला–८ का वडाअध्यक्ष भोजबहादुर दर्लामी बताउनुहुन्छ ।

जङ्गली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आएपनि यसको समाधान भने हुन सकेको छैन । हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएर विचल्ली बनाएको थियो । त्यसअघि हात्तीले बर्दिबास–३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन् ।

यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो । कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर शिरानका बस्तीसम्म उपद्रो मच्चाउने गरेको छ । पाँच वर्षअघि त हात्तीले ढल्केबरमा घर भत्काएर मान्छेलाई सुँडले तान्दै पछारेर मारेको जनाइएको छ ।

यी जङ्गली हात्ती आफ्नो पुरानो बाटोमै हिड्ने गरेका वन्यजन्तुविज्ञको भनाइ छ । तर पछिपछि हात्तीका पुराना बाटा फाँडिएर घर बनेपछि त्यस्तै ठाउँ नजिक हात्तीको उपद्रो बढ्ने गरेको छ । हात्तीको बाटो एकअर्को पुस्तासँग जोडिदै आउने गरेको विज्ञ बताउँछन् । अहिले बाबुआमासँग आएको छावा पछि यही बाटो अनुसरण गर्ने र त्यसपछि उसँग हिड्नेसँग बाटोको सम्बन्ध जोडिदै जाने परम्परा बसेको हेमन्तप्रसाद साह बताउनुहुन्छ ।

अहिले हात्तीको उपद्रो बढेका बेला तत्काल वनसम्बद्ध कार्यालय र वन सुरक्षाकर्मीले यसको कुशल व्यवस्थापनको चाँजो मिलाउन पर्ने बर्सेनीजसो क्षति पुर्याउँदै आएको बर्दिबास–३ का वडाअध्यक्ष विराटकुमार विष्टको भनाइ छ ।

यसैबीच डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले मातहतका सबै सवडिभिजन वन कार्यालय र वनसुरक्षा गस्तीलाई सचेतता अपनाउन र बस्ती पस्ने हात्ती धपाउने कार्यमा स्थानीयबासीसँग सहकार्य गर्न भनिएको बताउनुभएको छ । यसबारे नजिकको पर्सा वन्यजन्तु आरक्षण केन्द्रलाई यसबारे जानकारी गराइने मिश्रको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.