राजनीति

सङ्घीय संसद् भवन निर्माणप्रति समितिको चासो

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समिति तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले नयाँ सङ्घीय संसद् भवन निर्माणको ढिलाइप्रति चासो व्यक्त गरेका छन् । समितिले संयुक्त रुपमा बैठक आयोजना गरी बिहीबार सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयलाई सङ्घीय संसद् भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा जानकारी लिन आमन्त्रण गरेको थियो ।

समितिको चासो

दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थले पछिल्लो निर्धारण गरेको अवधिमा पनि सङ्घीय संसद् भवन निर्माण हुन नसकेकोप्रति सबैको चासो बढ्दै गएकाले समितिले हालसम्मको प्रगतिबारे जानकारी लिई ढिलाइमा भएका समस्या औँल्याउन पहल गर्ने बताउनुभयो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति सभापति मायाप्रसाद शर्माले समितिको संयुक्त बैठकले एक आपसमा सहकार्यलाई मजबुत बनाउन सहयोग पुग्ने बताउँदै समितिले पटक–पटक निर्माणाधीन भवन अवलोकन गरी सम्बन्धित मन्त्रालयलाई निर्देशन गरेको अवगत गराउनुभयो ।

आयोजना प्रमुख मचाकाजी महर्जनले सङ्घीय भवन निर्माणको हालसम्मको प्रगति सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै ७२ दशमलव ७५ प्रतिशत भौतिक प्रगति, ६२ दशमलव ७९ प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको उल्लेख गर्नुभयो । उहाँले खाकासहितको संरचना तय भइसकेको र छाना लगाउने काम तत्काल सुरु गर्ने तयारीमा रहेको बताउनुभयो ।

यसैबीच दुवै समितिले संयुक्त रुपमा सिहंदरबारमा निर्माणाधीन सङ्घीय संसद्को स्थलगत अवलोकन समेत गरेको छ । सिहंदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको पछिल्लो पटक थपिएको म्याद यही चैत १२ गतेसम्म मात्र रहेको हुँदा भवन निर्माणको काम सम्पन्न नहुने देखिएको छ । २०७६ असोज २६ गते यस भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । सहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय र निर्माण कम्पनी तुँदी सेक जेभीबीच सम्झौता भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.