जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

दाङ, काठमाडौँ, सप्तरी, कास्की र ललितपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दाङ, घोराही उपमहानगरपालिका-४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२-००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही उपमहानगरपालिका- २ बस्ने ४२ वर्षीया निरा सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार दुई जना र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-२ आलापोटस्थित सडकमा बा.प्र.०२- ०३७ प ०९०३ नम्बरको मोटरसाइकल र बा.७१ प १४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा बा.प्र. ०२-०३७ प ०९०३ नम्बरको मोटरसाइकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २१ वर्षीय राजन कटुवालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बा.७१ प १४७१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सप्तरी, सुरुङ्‍गा नगरपालिका-१ सिसुबारीस्थित सडकमा म. प्र.०१-००५ प ०४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा लाहान नगरपालिका-५ बस्ने २२ वर्षीय सलाम सेकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । उता कास्की, पोखरा महानगरपालिका-६ बैदामस्थित सडकमा ग.१३ प ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र मोटरसाइकलमा सवार सोही महानगरपालिका-८ सिमलचौर बस्ने २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यता ललितपुर, ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोस्थित सडकमा बा.प्र.- ३-०१-०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको छ ।

आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.