सामाजिक सञ्जाल नियमन विधेयकमा धेरै समस्या छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकमा धेरै समस्या रहेकाले परिमार्जन नभइ पारित नहुने बताउनुभएको छ ।

सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । यसै गरी थापाले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने र संसद्बाट छलफलसहित पास हुने बताउनुभएको छ ।
त्यसै गरी उहाँले महामन्त्री थापाले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने पनि बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुप¥यो ।”
विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर-पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रुपमा दाबी गर्ने अवस्था छैन” ।
उहाँले भन्नुभयो, “एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।” पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्