एक करोड लागतमा बागलुङमा कुकुर होस्टेल बनाइने
बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषणसहितको होस्टेल बनाउने उल्लेख गरेको थियो ।
यसका लागि नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही माघ २५ गते सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । नगरपालिकाको ३५ लाख र मुख्यमन्त्री कार्यालयको ६५ लाख बजेटमा सो होस्टेल निर्माण गर्ने उनले बताए ।
“बागलुङ नगरपालिकाले नीति तथा कार्यक्रममार्फत २० लाख बजेट विनियोजन गरेको थियो, पछि मुख्यमन्त्री कार्यालयसँग साझेदारीमा एक करोड लागतमा होस्टेल निर्माण र व्यवस्थापनसहितको सम्झौता भएको हो”, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने ।
उनका अनुसार होस्टेल निर्माण गरी असारभित्रै कुकुरका व्यवस्थापन गरिनेछ । होस्टेलमा पशु चिकित्सकसहित हेरचाह गर्ने मानिसको समेत व्यवस्थापन हुनेछ । कुकुर होस्टेल निर्माण गर्न जग्गा खोजीरहेको नगरपालिकाले जनाएको छ ।
बागलुङ बजारमा छाडा कुकुरको बिगबिगी भएकाले दीर्घकालीन नियन्त्रणका लागि पाँच रोपनी जग्गामा होस्टेल बनाउन लागिएको हो नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पशु कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गर्दै आइरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्