राजनीति

सत्तारुढ दलका नेता-कार्यकर्तालाई कानुन नलाग्नु विधिको शासन होइन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सत्तारुढ दलका नेताा तथा कार्यकर्तालाई कानुन नलाग्नु विधिको शासनको उल्लंघन भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा दलीय आधारमा बोल्नेक्रममा सांसद शाहीले सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गल्ती गर्दा पनि उनीहरूलाई कानुन नलाग्नु विधिको शासनको उल्लङ्घन रहेको बताउनुभयो ।

उहाँले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउँदै सर्वसाधारणका लागि एक खालको कानुन र नेता तथा कार्यकर्तालाई अर्को खालको कानूनको अभ्यास सरकारले गरेको आरोप लगाउनुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद वासुदेव घिमिरेले सरकारले सुशासन कायम गर्न, सेवा प्रवाहलाई छरितो बताउन र लगानी प्रवर्द्धनका लागि अध्यादेश ल्याएको बताउनुभयो । अध्यादेशमाथि प्रतिपक्षले विरोध गर्नु जायज नरहेको उहाँको भनाइ छ ।

“संसद्मा अनौठा परिदृश्य देखा परेका छन् । आफूले राम्रो गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्ति देखिएको छ । के अघिल्ला कुनै सरकारले अध्यादेश ल्याएका थिएनन्”

उहाँले भन्नुभयो, “जारी अध्यादेशबाट नागरिकलाई सहज सेवा प्रवाह, समृद्धि र परिवर्तनको अनुभूति दिलाउन सहयोग पुग्नेछ । यसबाट युवा, उद्योगी, व्यवसायी, भूमिहीन किसानलगायत आम नागरिक उत्साहित हुनुहुन्छ ।”

अध्यादेशको प्रक्रियामा कुनै त्रुटि नरहेको तर अध्यादेशमा राखिएका विषयवस्तु संशोधन गर्नुपर्ने भए त्यसमाथि संसद्मा छलफल गर्न सकिने उहाँको भनाइ छ ।

यसै गरी सांसद शेरबहादुर कुँवरले कानुन सबैका लागि बराबर हुने भए पनि सत्तासँग नजिक भएकै कारण विभिन्न अपराधमा संलग्न भएकालाई कारबाही नभएको भन्दै विरोध व्यक्त प्रकट गर्नुभएको छ ।

उहाँले कानुन र विधिको शासन कायम गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले संसदीय समितिमा सर्वसहमतिले पारित गरिएको विधेयकमा सरकारको तर्फबाट तोडमोड आरोप लगाउनुभयो ।

सांसद वीरेन्द्रप्रसाद महतोले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणलाई गति दिन आग्रह गर्नुभयो । सांसद अब्दुल खानले सरकारी अस्पतालमा उचित उपचार नपाएको, किसानले रासायनिक मल पाउन नसकेको, पैसा नभएको भन्दै हरेक क्षेत्रका कामकारबाही प्रभावित भएको भन्दै मुलुकको यथार्थका बारेमा जानकारी गराउनुभयो ।

गङ्गाराम चौधरीले नेपालका विद्यालय र क्याम्पसमा विद्यार्थी घट्दो क्रममा रहेको, अध्ययनका लागि नै विदेशिने क्रम बढ्दो क्रममा रहेको भन्दै किन त्यस्तो भएको हो उचित निरूपण गर्न माग गर्नुभयो । उहाँले वैदेशिक रोजगारीको नाममा ठगी धन्दा मौलाएको र दोषीमाथि कारबाही नभएकामा आपत्ति प्रकट गर्नुभयो ।

सांसद प्रेम सुवालले वैदेशिक ऋणको मात्रामा बढोत्तरी भए पनि उचित सदुपयोग नभएकामा गुनासो गर्नुभयो । सांसद प्रभु साहले सभा सम्मेलनका लागि आफ्नो पार्टीले स्थान नपाएको तथा मौलिक हक तथा अधिकारमाथि नै बन्देज गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले देशका अत्यावश्यक विमानस्थलमा सुधार एवं विस्तारको काम हुन नसक्दा समुचित प्रयोग हुन नसकेको बताउनुभयो । बैठकमा सांसद रामप्रकाश चौधरी, रेखा यादव, चन्दा चौधरीले समसामयिक राजनीतिक एवं राष्ट्रिय महत्वका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.