सरकारले सामाजिक सञ्जाल नियमन गर्ने नाममा जनताको अभिव्यक्ति स्वतन्त्रता खोस्न लागेको भन्दै व्यापक बिरोध भैरहेका बेला नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोधमा प्रदर्शन गरेको छ।
![COngress kotara](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/COngress-kotara-e1739360086934.jpg)
नेपाली कांग्रेसको भातृ संस्था नेविसंघले कांग्रेसको चार तारामध्ये एक तारा स्वतन्त्रताको प्रतीक रहे पनि अहिले कांग्रेस नै सरकारमा भएका बेला सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने भन्दै एउटा तारा हराएको सूचना भन्दै प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसको चार तारालाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रताका सूचकका रुपमा व्याख्या गर्ने गरिएको छ । चारवटामध्ये एउटा तारालाई अभिव्यक्ति स्वतन्त्रताका रुपमा परिभाषित गरिन्छ ।
सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गरी छलफल समेत अघि बढाइसकेको छ । विधेयकले अभिव्यक्ति स्वतन्त्रता हनन् हुने भन्दै व्यापक बिरोभ भैरहेको छ ।
तत्कालीन केपी ओली सरकारले यस्तै विधेयक ल्याउँदा चर्को बिरोध गर्ने नेपाली कांग्रेसका शीर्ष तहका नेताहरु यसपटक मौन रहेका बेला नेविसंघले बुधबार माइतीघर मण्डलमा उक्त विधेयकको विरोधमा प्रदर्शन गरेको हो।
नेविसंघ केन्द्रीय सदस्य किशोर गुरूङले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने खालका विधेयक सरकारले ल्याएकोले विरोध गरिएको बताउनुभयो ।
नेविसंघका केन्द्रीय सदस्य पवन आचार्यले विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, र गोपनियताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको विधेयकमा राखिएका व्यवस्थाहरू खुला छलफल गरेर संशोधन गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीहरुले ुकांग्रेसको एक तारा हराएको सूचना, केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र ?, नियमन चाहिएको हो नियन्त्रण होइनु जस्ता प्लाकार्डसहित प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्