जनयुद्धको ३० वर्ष : संविधान र जनाधिकार रक्षामा लागिरहने प्रतिबद्धता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ ।
![Prachanda](https://www.nepaljapan.com/wp-content/uploads/2025/02/Prachanda-scaled-e1739425073762.jpeg)
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताउनुभयो ।
“अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा सङ्घर्ष चलिरहेकै छ । हामीले धेरै वर्ष पहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि यसलाई जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ” ।
अध्यक्ष दाहालले भन्नुभयो, “एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लगेरै छाड्छौँ ।”
माओवादीले समुदायतर्फ फर्कदै जनताका ‘एजेण्डा’लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेकोे उहाँले बताउनुभयो ।
राजनीतिक तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले महसुस गर्ने गरी उनीहरुको जीवन परिवर्तन गर्ने प्रयासमा पार्टी जुट्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो ।
त्यस अवसरमा अध्यक्ष दाहाल लगायत माओवादी नेताहरुले पार्टी कार्यालय परिसमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्