ऐनापोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
इलामको चुलाचुलीस्थित ऐनापोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । चुलाचुली गाउँपालिका–३ र ४ को सङ्गमस्थलमा पर्ने ऐनापोखरीको संरक्षण र प्रवर्द्धनको काम भइरहेको हो ।
ऐनापोखरीले पछिल्लो समय पर्यटकको मन जित्न थालेकाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । “यस क्षेत्रमा पर्यटक आउन थालेपछि सहजताका लागि सडक निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “आउँदो दिनमा अन्य पूर्वाधारका काम गर्दै जानेछौँ ।” चुरे क्षेत्रमा संरक्षण गरिएको पोखरी हेर्नका लागि पनि महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
ऐनामा हेर्दा अनुहार देखिएजस्तै पानीमा आफ्नो अनुहार देखिने भएकाले ऐनापोखरी नामाङ्करण गरिएको किंवदन्ती रहेको केरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सिमसार क्षेत्रभित्र नागबेलीजस्तो देखिने पोखरी यस क्षेत्रकै भिन्न विशेषता रहेको छ ।
ऐनापोखरी संरक्षणका लागि स्थानीय सरकारले तत्परता देखाउनुपर्ने ऐनापोखरी तथा श्रम पार्कका अध्यक्ष कैलास थुलुङले बताउनुभयो । पोखरी संरक्षणका लागि ड्याम, शौचालय, पोखरी वरिपरि पदमार्ग निर्माणलगायत काम चाँडो गरे पर्यटकलाई सहज हुने उहाँको भनाइ थियो ।
ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उपयुक्त मानिन्छ ।
यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फागुन १ (आज) देखि प्रथम ऐनापोखरी महोत्सवसमेत सुरु भएको छ । विभिन्न चराको बासस्थान, जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सात दिने महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कैलाश थुलुङले जानकारी दिनुभयो ।
यही फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर खेलकुद प्रतियोगिताका साथै स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने उहाँले बताउनुभयो ।
अध्यक्ष थुलुङका अनुसार महोत्सवमा लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्यको सङ्गिनीलगायत प्रस्तुत गरिनेछ । प्रत्येक दिन फरक–फरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित भेषभूषा प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।
ऐनापोखरी पुग्न इलाम सदरमुकामबाट झापाको विर्तामोड हुँदै करिब एक सय २० किलोमिटर यात्रा गर्नुपर्दछ । यता झापाको दमकबाट करिब २० किलोमिटर र विर्तामोडबाट करिब ४० किलोमिटर पार गरेपछि ऐनापोखरी पुग्न सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्