कला/मनोरन्जनकलिउड

चलचित्र ‘दुःखी आत्मा’ आजदेखि प्रदर्शनमा

यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को आजदेखि प्रदर्शनमा आएको छ । यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भएपनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले आफैँले निर्देशन गरेको निर्देशक दीपेन्द्र लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु ।” उहाँले चलचित्रमा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाउनुभएको छ । यस पात्रका लागि उहाँले कविको पृष्ठभूमि तयार गर्नुभएको छ ।

चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई हुनुहुन्छ । उहाँले आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म कवि होइन र ‘इरेक्टाइल डिस्फक्सन’ को समस्यालाई महसुस गरेको छैन । त्यसैले त्यो पात्रलाई न्याय गर्न एउटा अभिनेताका रुपमा सक्दो मेहनत गरेँ ।” ।”

अभिनेत्री आँचल शर्माले यौनस्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताउनुभयो । “हामीले चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने हो । नेपाली समाजमा यौन समस्यालाई डाक्टरसँग पनि भन्न लजाउने स्थिति छ । समस्या व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रम चलचित्रमा प्रस्तुत छ ।”

‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ । यसअघि यस चलचित्रको काठमाडौँमा पहिलो प्रदर्शनी (प्रिमियर शो) हिजो बिहीबार गरिएको थियो ।

ट्रेलर –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.