विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।
![तीन जना पक्राउ तीन जना पक्राउ](https://www.nepaljapan.com/wp-content/uploads/2024/06/pakrau-e1717667422658.jpg)
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी रहेका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो ।
लामो समयदेखि विदेश पठाइदिन्छु भन्दै झुक्याउँदै आएका र पछि सम्पर्कमा नआएपछि १४ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले थापा र अधिकारीलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
प्रनाउ नेउपानेका अनुसार अनुसन्धानका क्रममा १४ जना बेरोजगार युवाबाट रु ७१ लाख ७० हजार ठगी गरेको पाइएको छ । उहाँले भन्नुभयो, “पक्राउ परेको दुवैलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ठगीसम्बन्धी कसुरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।” प्रहरीले थापा र अधिकारीबाट अरु ठगीमा परेका भए भक्तपुर प्रहरीमा आएर जाहेरी दिन आह्वान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्