व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउँछ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने भएकाले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
![Prakash Saran](https://www.nepaljapan.com/wp-content/uploads/2024/05/Prakash-Saran-e1716904916393.jpg)
शनिबार चितवनमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।”
व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।”
माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उहाँको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
अर्को प्रसङ्गमा पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन, तयारीका लागि केही समय थप गर्न सकिन्छ ।” विधानतः एक वर्ष छ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उहाँको भनाइ छ ।
सरकारले ल्याएको अध्यादेश पास गर्ने विषयमा विपक्षी दलहरुसँग छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच वटा अध्यादेशमा केही समस्या छैन, भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेकबाट पास हुन्छ ।”
प्रतिक्रिया राख्नुहोस्