उपप्रधानमन्त्री पौडेलको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यमन्त्रीबाट जानकारी
पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा बेलुनमा लागेको आगोमा परी घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी लिनुभएको छ ।

शनिबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर मन्त्री पौडेलले उपप्रम पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । मन्त्री पौडेलले चिकित्सकबाट राम्रोसँग उपचार भइरहेको जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले जलनपीडित जोकोहीको उपचार प्रभावकारी बनाउने कार्यमा आफूहरू प्रतिबद्ध रहेको भन्दै त्यसैका लागि उपचार सेवा विस्तार र सेवा सुधार दुवै सँगै अघि बढाइएको बताउनुभयो । “जलनको उपचार सकेसम्म चाँडो बनाउने वातावरण तयार पार्न हामी लागि परेका छौँ, सुधारका कामले नतिजा दिन थालिसकेका छन्”,उहाँले भन्नुभयो ।
त्यस क्रममा मन्त्री पौडेलले अरू बिरामीको उपचार अवस्था र अस्पतालको सेवाबारे जानकारीसमेत लिनुभएको थियो । वीर अस्पतालअन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भइरहेको छ । मन्त्रालयले प्रादेशिक अस्पतालमा समेत यो सेवा विस्तार गर्ने गरी काम अघि बढाइरहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्