‘समाजशास्त्रीले समाजको मनोभावनालाई बुझ्न सक्नुपर्छ’ : समाजशास्त्री गुरुङ
गण्डकी विश्वविद्यालयका कुलपति एवम् नेपाल समाजशास्त्र सङ्घका अध्यक्ष प्राडा गणेशमान गुरुङले समाजशास्त्रीले समाजको मनोभावनालाई बुझेर अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पाटन संयुक्त क्याम्पसको समाजशास्त्र विभागद्वारा आयोजित समाजशास्त्र विषयको स्नातकोतर तह प्रथम सेमेस्टरका विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा कूलपति प्राडा गुरुङले समुदायको आवश्यकता सम्बोधन हुने गरी सामाधान दिने काम समाजशास्त्रीको भएको बताउनुभयो ।
“सामाजशास्त्रीय लेख रचना गर्दा सार्वजनिक समाजशास्त्रलाई ध्यान दिनुहोला, कामका आधारमा हरेक विषयको प्रयोगात्मक अभ्यासको आधारमा नम्बर दिने वातावरण तयार हुनुपर्छ, नम्बर दिनका लागि प्राध्यापकलाई दबाब र प्रभावमुक्त बनाइनुपर्छ, विद्यार्थीलाई नेताका राजनीतिक स्वार्थमा नलागेर अध्ययन गर्न आग्रह गर्दछु”, कूलपति प्राडा गुरुङले भन्नुभयो ।
उहाँले समाजशास्त्र र मानवशास्त्र एकापसमा अन्तरसम्बन्धित रहेकाले दुवै विषयलाई एकै पाठ्यक्रममा समेटेर अध्यापन गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले समयको परिपालना गरेर अध्ययन र अध्यापन गराउन प्राध्यापक र विद्यार्थीलाई ध्यान दिन आग्रह गर्नुभयो ।
प्राडा गुरुङले विगतमा लोकतन्त्र ल्याउन विद्यार्थी नेताहरूले ठूलो योगदान गरेको स्मरण गर्दै विद्यार्थीहरुले क्याम्पसको अध्ययन गर्ने वातावरण तयार गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले अध्ययनका क्रममा स्थलगत अध्ययन अनुसन्धान अत्यन्तै कठिन भएको उल्लेख गर्दै समाजशास्त्रीले समाजका मानिसको मनोभावनालाई बुझेर अध्ययन अनुसन्धान गर्न सक्नुपर्ने तर्फ विद्यार्थीहरुको ध्यानाकर्षण गराउनुभयो ।
पाटन संयुक्त क्याम्पसका प्रमुख सहप्राध्यापक डा रघुबीर बिष्टले विकासको कुरा गर्दा समाजको आयमलाई ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले समाजमा खुसी नछाएसम्म विकासको अर्थ रहँदैन भन्नुहुँदै समाजको मनोविज्ञान बुझेर नीति निर्माणका विषयमा योगदान पु¥याउन विद्यार्थीहरुको अध्ययन अनुसन्धान महत्त्वपूर्ण हुनेछ भन्नुभयो ।
सहप्राध्यापक डा बिष्टले विद्यार्थीहरुलाई पूर्णकालीन रुपमा अध्ययनमा क्रियाशील भएर समाजमा घुलमिल हुँदै अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँले समाजको मनोविज्ञानलाई बुझेर देशको अवस्थालाई सुधार्न लाग्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
समाजशास्त्र विभागका प्रमुख डा मदनराज बिष्टले समाजशास्त्रको बिकासमा पाटन क्याम्पसले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँले क्याम्पसमा यसवर्ष स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा १३० जना विद्यार्थी भर्ना भएको जानकारी गराउनुभयो ।
सहप्राध्यापक राम केसीले यस वर्षदेखि नयाँ पाठ्यक्रममा आधारित रहेर पढाइ हुने जानकारी गराउँदै त्रिभुवन विश्वविद्यालयको शैक्षिक पात्रो अनुसार पढाइ र परीक्षा व्यवस्थापन हुने बताउनुभयो । स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको परीक्षा ६० प्रतिशत लिखितका आधारमा र ४० प्रतिशत प्रयोगात्मक आधारमा हुनेछ ।
प्रत्येक दिनको मूल्याङ्कनका आधारमा प्रयोगात्मक परीक्षाको नम्बर दिइने जानकारी गराउँदै उहाँले नियमित रुपमा कक्षामा उपस्थित हुनका साथै कक्षागत छलफल र प्रस्तुतिकरणमा ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
स्नातकोत्तर चौथो सेमेस्टरका विद्यार्थी कृष्णविनोद झा, स्वतन्त्र विद्यार्थी युनियनका सदस्य नितिन पाण्डे, नेपाल विद्यार्थी सङ्घ पाटन संयुक्त क्याम्पसका उपाध्यक्ष रुपक न्यौपाने, विद्यार्थी नेता मोहन बुढा, अखिल क्रान्तिकारीका नेता टीकाराम खत्री, अनेरास्ववियुका नेता तिलक कुमाललगायतले क्याम्पसको पढाई र भौतिक व्यवस्थापन राम्रो रहेको जानकारी गराउँदै नवआगन्तुक विद्यार्थीहरुलाई अनुशासित रुपमा कक्षामा निरन्तर उपस्थित भइ अध्ययन गरी सफलता हासिल गरी सक्षम हुन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्