एमसीसी संसदबाट पारित हुन्छ : नेता निधि
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसीसी संसबाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।”
एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसीसी पारित गराउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । एमसीसी बिजुलीको प्रशारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गर्नुहुँदै उहाँले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको बताउनुभयो ।
लोकतन्त्रमा सरकारले गर्ने निर्णयको उत्तराधिकारी सरकारले इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भएकाले यसलाई वर्तमान सरकारले पारित गराउन चाहेको उल्लेख गर्नुहुँदै नेता निधिले एमसीसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने जिकिर गर्नुभयो ।
पार्टीभित्रका सबै आन्तरिक कुरालाई बिर्सेर आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जुट्न नेता कार्यकर्तासँग आग्रहसमेत गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्