भारतमा मृत भेटिएकी नेपाली विद्यार्थीका बारेमा बोल्न नपाएपछि (भिडियो)
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सोमबारको प्रतिनिधिसभा बैठकमा भारतमा नेपाली विद्यार्थीको मृत्युका विषयमा बोल्न खोज्दा सभामुखले समय नदिएपछि उहाँले बैठक वहिष्कार गर्नुभएको छ ।

सोमबार बैठक सुरु हुनासाथ सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे कुरा उठाउन खोज्दा समय नदिइएको हो ।
बैठकको सुरुमै समय माग गरेर उठ्नुभएकी सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्नुभयो । उहाँ चुपचाप बस्नुभयो । नाम नटिपाएकको भन्दै बोल्न अनुमति नदिएर सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिनुभयो ।
आकस्मिक समयमा सरस्वती बजिमय, रघुजी पन्त, रामकुमार राई, अशोक कुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सिता कुमारी राना, सूर्यबहादुर थापा, सम्झना थपलियाले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गर्ने बताउनुभयो ।
सांसद श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको मृत्युका सम्बन्धमा कुरा राख्न खोज्नुभयो तर सभामुख घिमिरेले समय लिएर मात्रै बोल्न पाइन्छ, आसनग्रहण गर्नुस्य यहाँलाई मैले समय दिएको छैन भन्दै सभामुख घिमिरेले नियमावलीप्रति ध्यानाकर्षण गराउनुभयो ।
सांसद श्रेष्ठले आफ्ना कुरा राख्ने प्रयास गरिरहे पनि समय नदिएर सभामुखले शून्य समयको कार्यक्रम अघि बढाउनुभयो । सांसद श्रेष्ठ बैठक कक्षबाटै बाहिरिनुभयो ।
समय नपाएर बैठकबाट बाहिरिनुभएकी सांसद श्रेष्ठले भन्नुभयो, “मलाई पार्लियामेन्ट आउँदै गर्दा मेरो टिमबाट भारतमा भइरहेको घटनाबारे जानकारी गरायो । मैले पनि तुरुन्तै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन भनेर आकस्मिक समय लिनका लागि गएँ । सभामुखको कार्यकक्षमा उहाँसँग भेट भयो । मैले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको र त्यसको प्रतिरोध गर्दा विद्यार्थीमाथि नै दमन भएकोबारे जानकारी गराएँ ।”
“उहाँ (सभामुख) ले त्यो मान्छे चिन्नुहुन्छ तपाईंले ? भनेर प्रश्न गर्नुभयो । मैले नेपाली विद्यार्थीको नाम पनि भनेँ, (प्रकृति लम्साल) । उहाँले थाहा नभएको मान्छेको बारेमा बोल्न मिल्दैन भन्नुभयो । त्यसपछि मैले उहाँलाई अर्जेन्ट यसमा लाग्नुपर्छ भनेँ । तर, सभामुखले परराष्ट्रमन्त्रीको काम हो भन्नुभयो । उहाँले धेरै जनाले आकस्मिक समय लिएका छन्, तपाईं आज नबोल्नु भन्नुभयो । भारतमा विद्यार्थीलाई आजै समस्या भएको छ । अब यसबारे सभामुखले भोलिमात्रै बोल भन्नुहुन्छ ? यो कसरी हुन्छ ?”
प्रतिक्रिया राख्नुहोस्