तालिबान प्रतिनिधिमण्डल जापानको दुर्लभ यात्रामा
तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको भ्रमण गरेको छ । तालिबान अधिकारीद्वारा विरलै देशबाहिर भ्रमण गर्ने गरेको पाइन्छ।

उच्च शिक्षा, परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू सम्मिलित अफगान प्रतिनिधिमण्डल शनिबार काबुलबाट एक हप्ता लामो भ्रमणमा जापान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
“हामी बलियो, एकताबद्ध, उन्नत, समृद्ध, विकसित अफगानिस्तानका लागि र अन्तर्राष्ट्रिय समुदायको सक्रिय सदस्य बन्नका लागि विश्वसँग सम्मानजनक अन्तरक्रिया चाहन्छौं,” प्रतिनिधिमण्डलमा सहभागी अर्थ मन्त्रालयका उपमन्त्री लतिफ नजरीले शनिबार सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भन्नुभएको छ ।
तालिबान सरकारका अधिकारीले मध्य एसिया, रूस र चीनलगायत छिमेकी र क्षेत्रीय मुलुकहरूको नियमित भ्रमण गर्दै आएपनि ती मुलुकबाहेकका राष्ट्रमा विरलै भ्रमण गर्ने गरेका छन् ।
तालिबान अधिकारीले यसअघि ले सन् २०२२ र सन् २०२३ मा नर्वेमा हुने कुटनीतिक शिखर सम्मेलनका लागि औपचारिक रुपमा युरोपको भ्रमण गरेको थियो ।
काबुलमा रहेको जापानी दूतावास पूर्ववर्ती विदेशी समर्थित सरकारको पतन र सन् २०२१ मा तालिबानले कब्जा गरेपछि अस्थायी रूपमा कतारमा सारिएको थियो। यद्यपि, त्यसपछि यसले देशमा कूटनीतिक र मानवीय गतिविधिहरू पुनः सुरु गरेको छ।
प्रतिक्रिया राख्नुहोस्