दुई हप्तामा तीनसय ३२ भारतीयलाई अमेरिकाबाट निकाला
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानका क्रममा अवैध रुपमा बसेका भारतीयहरु फिर्ता पठाउने क्रममा दुई हप्ताको बीचा ३ सय ३२ जनालाई अमेरिकाबाट निकालिएका छन् ।

पछिल्लो पटक सोमबार एक सय १२ अवैध भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय सहर अमृतसरको विमानस्थलमा अवतरण गरेको छ ।
अमेरिकामा रहेका अवैध भारतीयहरूको यो तेस्रो समूह हो । अधिकारीहरूका अनुसार सी–१७ अमेरिकी सैन्य विमान आइतबार राति अमृतसर विमानस्थलमा अवतरण गरेको थियो ।
आप्रवासन, प्रमाणीकरण र पृष्ठभूमि जाँचसहित सबै औपचारिकता पूरा गरेपछि निर्वासितहरूलाई आफ्नो घर जान अनुमति दिइने अधिकारीहरूले बताए ।
शनिबार राति एउटा अमेरिकी सैन्य विमानले एक सय १६ भारतीय आप्रवासीलाई अमृतसर ल्याएको थियो । यसअघि फेब्रुअरी ५ मा एक सय चार भारतीयलाई संयुक्त राज्य अमेरिकाबाट फिर्ता पठाइएको थियो ।
दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै ट्रम्पले अवैध आप्रवासीहरू विरुद्ध व्यापक कारबाही सुरु गर्नुभएको छ ।
गत हप्ता संयुक्त राज्य अमेरिकामा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना कुनै पनि नागरिकलाई फिर्ता लिने बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्