राजनीति

ट्रान्सक्रिप्ट र प्रोभिजनल पढाइ सकिएकै वर्षमा उपलब्ध गराउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पढाइ सकिएकै वर्षमा प्रमाणपत्र उपलब्ध गराउन अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन मिल्‍ने गरी काम गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।

मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच भएको बैठकमा मन्त्री विद्या भट्टराईले सो निर्देशन दिनुभएको हो

सो बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा अनलाइनबाटै ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ ।

मन्त्री विद्या भट्टराईले त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक परे जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको बताउनुभयो ।

यसै गरी आंगिक क्याम्पसहरूलाई पनि अनिवार्य रूपमा क्यालेण्डर कार्यान्वयन गर्ने सहमति भएको बताउँदै परीक्षाफल प्रकाशन र ट्रान्सक्रिप्ट वितरणलाई पनि समयमै गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

सो बैठकमा स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भएको र आगामी चैत ५ गते निर्वाचन गर्ने निर्णय भएको छ।

क्याम्पसहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र निर्वाचन सम्पन्न गर्ने, निर्वाचन स्थगित भएमा १५ दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने तथा मन्त्रालय र विश्वविद्यालयबीच सीधा सम्पर्क कायम गरी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन गर्ने सहमति भएको छ ।

बैठककमा समकक्षताको प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सफ्टवेयरहरूको एकीकरण गर्ने र आवश्यक परे जनशक्ति थप गर्ने साथै विद्यार्थीलाई सुविधाका लागि अनलाइनबाटै आवेदन दिन सकिने र कम समयमै प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्ने सहमति भएको छ ।

यसै गरी परीक्षा सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने र उक्त समितिले विश्वविद्यालय अनुदान आयोगले गरेको लगानीको अवस्था अध्ययन गरी सुधारका लागि सुझाव दिने र सो समितिले सफ्टवेयरको एकीकरणका विषयमा पनि राय दिने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.