अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न २४ जना पक्राउ
अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमार समेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-५ स्थित घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको खुल्न आएको छ ।
उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्