छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धनुषा र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ विरेन्द्र बजारस्थित सडकमा स.१ च १७८१ नम्बरको रथगाडीले प्रदेश २-०२-००२ प ८९०४ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय शिवकुमार पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । रथगाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरी, गढी गाउँपालिका-४ छिटाहा बजारस्थित सडकमा साइकलको ठक्करबाट सोही गाउँपालिका-२ औराबनीस्थित कुटीमा बस्ने ६६ वर्षीय फुल सिंङ भन्ने बाबाजीको सोमबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगर मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्