प्रजातन्त्र दिवस : विकृत राजनीतिक अभ्यास रोकियोस
आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस । देशमा जनताको अधिकार वहालीका लागि बि.सं. १९९७ सालदेखिको संघर्ष र महान योद्धाहरुको प्राण उत्सर्गपछि प्राप्त प्रजातन्त्रको ७५ वर्षको परिपक्व कालखण्ड ।

आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसक्दा पनि प्रजातन्त्रका न्यूनतम कुराहरुबाट जनता विमुख छन् । प्रजातन्त्र बोल्ने, लेख्ने स्वतन्त्रतामा सीमित भएको छ ।
१०४ वर्षसम्म एकतन्त्रीय जहानीया शासनमा पुगेको अतीतलाई इतिहासको पानातिर धकेलेर २००७ सालमा नेपाल प्रजातान्त्रिक युगमा प्रवेश गरेको मानिन्छ । पौने शताब्दीको यस अवधिमा प्रजातान्त्रिक अभ्यासका अनेक रुप देखापरे ।
राणा शासनविरुद्ध विद्रोहको बिगुल फुकेर जनचेतनाको दियो बाल्ने क्रान्तिवीर दशरथ चन्द, गंगालाल, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई देशद्रोहको अभियोग लगाएर १९९७ साल माघमा राणा शासकले प्राणदण्ड दिएर जनविद्रोहको बेग रोक्ने प्रयास गरे पनि दश वर्षकै अन्तरालमा एकतन्त्रीय जहानीया शासनको अन्त्य गर्दै २००७ सालमा नेपालमा प्रजातन्त्रको प्रादुर्भाव भयो । सोही समयदेखि नै नेपालमा हरेक वर्ष फागुन ७ गते औपचारिकताकै निर्वाहका रुपमा भने पनि प्रजातन्त्र दिवस मनाइँदैआएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि जीवन उत्सर्ग गर्ने नेपाली आमाका महान सपुतहरूको नाम यस्तै औपचारिक कार्यक्रमा उच्चारित हुने र शहीद दिवसका अवसर पारेर राजधानीमा तस्वीर घुमाउने गरिनु बाहेक नेपाली समाजले नेपाली समाजमा परिवर्तनका अगुवा मानिने राजनीतिक समूहहरूले महान शहीदहरूको बलिदानबाट प्रेरित भएर सामाजिक आर्थिक रुपान्तरणको मूल बाटो पहिल्याउन वाञ्छित पहल नगरेको वर्तमान राष्ट्रिय परिस्थितिले इंगित गरिरहेको छ ।
देशमा प्रजातन्त्र स्थापना भएको यति लामो समय कुनै पनि मुलुककका लागि कम होइन । तर, परिवर्तनका संवाहक शक्तिहरूका बीच प्रजातन्त्रको आगमनदेखि नै सत्तास्वार्थका निम्ति झुत्ति खेलिरहने, बाहिरी शक्तिकेन्द्रको उपयोगमा आएर राष्ट्रहितका सवालको पनि ख्याल नगर्ने र सानातिना घरेलु मामिलामा पनि बाहिरीयाकै मुख ताक्ने प्रवृत्ति देखापर्दै आएकाले नेपालमा वास्तविक प्रजातन्त्रको अभ्यास नै हुननसकेको तथ्य उजागर हुँदैआएको छ ।
पौने शताब्दिको यस समयावधिमा अनेक थरी राजनीतिक प्रयोगहरू भए तर ताष्ट्रिय चिन्तनधार बलियो बनाएर मुलुकलाई समृद्धिको दिशातिर अगाडि बढाउने सपना धुमिल बनाउने र हरेक क्षेत्रमा परनिर्भरता बढाउने खालका गतिविधिहरू कतै अज्ञानतावस वा कतै बाह्य निर्देशनमा सुनियोजित गतिविधि बढाइए । राजनीतिक व्यवस्थाहरूमा प्रजातान्त्रिक आदर्श र मर्यादाअनुकूलको आचरण दुरुत्साहित हुने र खुकुलो वातावरणको लाभ देश र जनताले नपाउने र निहित स्वार्थी समूहको चंगुलमा फँसेर देश दिन प्रतिदिन कमजोर हुँदैजाने अनपेक्षित परिस्थितिको नियती भोग्न देश र जनताले भोग्नुपरेको अवस्था सिर्जित छ ।
यदि अमर शहीदहरूको बलिदान र उनीहरूले देखाएको त्याग र समर्पणको ख्याल राखेर प्रजातन्त्रको अभ्यास गर्ने र आन्तरिक कलहको बीज रोपेर सामाजिक सद्भाव टुटाउने गतिविधिबाट जोगिन सकेको भए यतिबिघ्न रुपमा मुलुक राष्ट्रिय संकटले घेरिने नै थिएन । यदि प्रजातन्त्र आचार, विचार र व्यवहारमा अनुवाद हुन पाएको भए देशको मुहार यति मलिन र क्लान्त हुने थिएन । भित्री बाहिरी षडयन्त्र, राजनीतिक दाउपेच र आन्तरिक कलहबाट नेपालमा विगतदेखि नै टाक्सिँदैआएको र अहिले पनि त्यो क्रम जारी रहेको तीतो यथार्थ जनताको आँखा सामु छर्लङ्ग नै छ ।
नेपालमा प्रजातन्त्रको दुहाई दिएर आकाश पाताल जोड्ने राजनीतिक भाषणवाजीको होड २००७ सालको परिवर्तनदेखि नै चल्दैआएको राजनीतिक घटनाक्रमहरूले प्रष्ट रुपमा इङ्गित गर्दैआएका छन् । विकासे योजनाका ठेलीहरूले सायद सिंहदरबारका दराजहरू भरिइसके । तर देश देश द्रूतगतिमा फरालो लाग्ने क्रममा छ । आन्तरिक स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी उत्पादन बढाउने र देशभित्रैको उत्पादनले आन्तरिक मागको आपूर्ति गर्ने सम्भावना र क्षमता भएका क्षेत्रहरू पनि नीतिगत र व्यवहारिक रुपमा नै सुनियोजित ढंगले संकुचनमा परेका पारिएका छन् । राष्ट्रको सम्मानमा चोट पुग्ने र राष्ट्रियता नै कमजोर पार्ने प्रक्षेपित गतिविधि मौलाएकै कारण नागरिकको आत्मसम्मान गिर्दो अवस्थामा छ । देशको अर्थतन्त्र सुखदस्थितिमा छैन ।
प्रजातन्त्र–लोकतन्रका लागि कुनै कालखण्डमा योगदान गरेका नेताहरू त्यसैलाई भजाएर देश लुट्ने काममा लागिरहेको जनआरोप सर्वत्र व्याप्त छ । युवाशक्तिको पलायनका साथै उच्च प्रशिक्षित जनशक्ति र पूँजीको पलायन पनि डरलाग्दो गतिमा विस्तारित भैरहेको छ ।
सत्तामा टिक्ने टिकाउने विषयमा बाहेक सत्ताधारीहरूको ध्यान अरू विषयमा केन्द्रित देखिँदैन । हरेक चरणका राजनीतिक परिवर्तनमा साथ दिँदैआएका जनताको मनोभावना र आकांक्षामाथि खेलबाड हुँदै आएकाले नै सर्वत्र कालो बादल मडारिइरहेको छ ।
हरेकपटक जनताको जीवनस्तर उकास्ने, विकासलाई गति दिने, सुशासन कायम गर्ने भन्दै सत्ता समीकरण बदलिने, तर देश र जनताको अवस्था उस्तै रहने, शासनसत्तामा रहेका दलका नेता, कार्यकर्ता र पहुँचवालाहरुको जीवनशैली मात्र बदलिने गरेको आम अनुभूति छ । भुईमान्छेका लागि देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र केही आएको छैन ।
प्रजातन्त्र, जनअधिकारका जतिसुकै ठूला गफ हाँकिए पनि, व्यवस्था जति नै बदलिए पनि नियमित प्रक्रियामा भैरहेका बाहेक सम्झनायोग्य काम हुन सकेको छैन । जनताको आकांक्षा र विकास–समृद्धिको प्यास मेटिने गरी कुनै काम हुन सकेको छैन ।
देशको वर्तमान अवस्था जनताको दुहाई दिएर जतिसुकै सत्ता बदलिए पनि, राजनीतिक प्रणाली बदलिए पनि जनताको अवस्थामा परिवर्तन आएको प्रत्यक्ष अनुभूति हुन सकेको छैन । देश र जनताकै नाममा सत्ता स्वार्थको विकृत राजनीतिक अभ्यास भैरहेको छ ।
प्रजातन्त्र दिवसले सरोकार राख्ने सबैको मन–मस्तिष्कमा विकृत राजनीतिक अभ्यास बन्द गर्ने चेतना पैदा होस् । यो महान दिवसको सम्पूर्ण नेपालीमा शुभकामना !
प्रतिक्रिया राख्नुहोस्