छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, बाँके र रोल्पामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१ विश्वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा.५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकलयात्री ओखलढुङ्गा घर भई काठमाडौं डल्लु बस्ने ५६ वर्षीय अम्बर बहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बाँके, बैजनाथ गाउँपालिका-१ पन्ध्र नम्बर मोड नजिक सडकमा जुम्लादेखि नेपालगंजतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७४७१ नम्बरको मिनि बस अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा बसमा सवार भारत बिहार घर भएका उमेश शाहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै रोल्पा, माडी गाउँपालिका-२ घर्तीगाउँस्थित सडकमा सोही गाउँपालिका-४ टुपबोटबाट दारबोटतर्फ जाँदै गरेको ना.८ ख ७२७६ नम्बरको टिपर सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक बारा निजगढ नगरपालिका-५ बस्ने ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्