संचारमन्त्री बाँस्कोटाको अडियोले ल्याएको तरंग (अडियोसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीका सबभन्दा विश्वासपात्र र निकट मानिने सरकारका प्रवक्ता समेत रहनुभएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको एउटा अडियो टेप सार्वजनिक भएपछि राजनीतिमा तरंग आएको छ ।
मुलुकमा स्थापना हुने भनिएको सेक्युरिटी प्रेसका सवालमा मन्त्री बाँस्कोटालाई जानकारी दिने एजेन्टसंगको कुराकानीमा कमिशनको कुरा गरेको र मन्त्रालयका कर्मचारीहरुलाई गाली गर्दै २७ अर्ब रुपैयाँ लाग्छ भने त्यसलाई २८ अर्ब बनाउन समेत निर्देशन दिनुभएको छ ।
आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा
२ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।
यसैबीच सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ– सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’
बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।
(अडियो साभार अनलाइनखबर)
प्रतिक्रिया राख्नुहोस्